काठमाडौं। साफ महिला यु–२० च्याम्पियनसिपमा उपाधि दौडको दुई मुख्य दाबेदारबीचको दुरी खुम्चिँदै गएको छ।
योसँगै नेपालले फेरि आफ्नो सम्भावनालाई जीवित बनाएको छ। बसुन्धरा किङ्स एरेनामा मंगलबार राति सम्पन्न खेलमा मीना देउवाको ह्याट्रिकसँगै नेपालले श्रीलंकामाथि ७–० को सहज जित निकाल्यो।
योसँगै अंक तालिकामा नेपालले अर्को दाबेदार बंगलादेशलाई पुनः दबाबमा राखेको छ। पहिलो हाफमै २ गोल गरेकी मीनाले ७०औं मिनेटमा ह्याट्रिक पूरा गर्दै खेलको लय निर्धारण गरिन्।
पूर्णिमा राईले २ गोल थपिन् भने समीक्षा मगर र सरिता नाथले समान १ गोल गर्दै नेपाली टोलीको आत्मविश्वास अझ बलियो बनाइदिए। ३ खेलपछि नेपाल ६ अंकसहित दोस्रो स्थानमा यथावत् छ।
बंगलादेशले सबै खेल जित्दै ९ अंकसहित शीर्ष स्थान कायम राखेको छ। यद्यपि, नेपाल गोलअन्तरमा धेरै पछाडि छैन। बंगलादेशको गोलअन्तर १२ र नेपालको ११ छ। रोचक कुरा त यी दुवै टोलीले समान ४ गोल बेहोरेका छन्।
भुटानमाथि ६–१ को पहिलो जितपछि बंगलादेशसँगको नाटकीय हार नेपालको उपाधि योजनामा झड्का साबित भयो। तर, श्रीलंकाविरुद्धको यो फराकिलो जितसँगै नेपालले उपाधि यात्रामा पुनः गति समातेको छ। यता, बंगलादेशले पनि सोही दिन भुटानलाई ४–१ ले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राख्यो।
श्रीलंकाका लागि भने यो प्रतियोगिता निराशाजनक रहने सम्भावना बढेको छ। दुई खेल बाँकी रहँदा श्रीलंका तालिकाको पुछारमा अड्किएको छ। यता, भुटानले भने यही टोलीलाई ५–० ले हराउँदै आफ्नो शाख जोगाउने लगभग निश्चित नै छ।
अब सबैको नजर अन्तिम दिन हुने नेपाल र बंगलादेशबीचको खेलमा हुनेछ। त्यो खेलले उपाधिको कित्ता निर्धारण गर्ने सम्भावना बलियो छ। त्यो खेलमा नेपाललाई बदला मात्र होइन, जित पनि आवश्यकता हुनेछ। तर, त्यसअघि नेपालले बिहीबार श्रीलंका र शनिबार भुटानमाथि यसरी नै फराकिलो जित निकाल्नुपर्ने छ।