काठमाडौं। नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले साफ महिला यु-२० च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध हुने खेलमा सुरुआती ११ मा कप्तान विर्सना चौधरीसहित ३ खेलाडी परिवर्तन गरेका छन्।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे हुने तालिका थियो। तर, वर्षाका कारण मैदान हिलाम्मे भएपछि खेल पर धकेलिएको हो। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार खेल राति ८:१५ बजे हुनेछ।
मुख्य मैदान हिलाम्मे भएपछि अब खेल रंगशालाको अभ्यास मैदानमा सारिने भएको छ। गुरुङले कप्तान तथा मिडफिल्डर विर्सना, अट्याकिङ मिडफिल्डर सेनु परियार र गोलकिपर सुजता तामाङलाई आराम दिएका हुन्।
विर्सनाको स्थानमा समीक्षा मगर र सेनुको स्थानमा वर्षा ओलीलाई पहिलो रोजाईमा मैदान उत्रिने छन्। त्यस्तै, लिला जोशीले सुजताको जिम्मेवारी सम्हाल्ने छन्। लिला नै कप्तानको आर्मब्यान्ड पाएकी छन्।