काठमाडौं। हेल्प नेपाल स्पोर्ट्स क्लबले माल्दिभ्सको क्लब धिवेही सिफाइन्ससँग खेल्दै काभा च्याम्पियन्स लिगको सुरुआत गर्ने भएको छ।
काभाले मंगलबार सार्वजनिक गरेको खेलतालिका अनुसार हेल्प नेपालले पहिलो खेल बिहीबार धिवेहीसँग खेल्ने तय भएको हो।
च्याम्पियन्स लिगमा हेल्प नेपालसहित सेन्ट्रल एसियाका ५ राष्ट्रका ६ क्लबले सहभागिता जनाएका छन्। सिंगल राउण्ड रोविनका आधारमा हुने प्रतियोगिताको दोस्रो खेलमा माल्दिभ्सकै क्लब एचडिसीसँग खेल्नेछ।
यस्तै, हेल्प नेपालले तेस्रो खेलमा कीर्गिस्तानको बिस्केक-कीर्गिस्तानसँग खेल्ने तय छ। चौथो खेल भने कजाकस्तानको जायक भिसीसँग खेल्नेछ। लिगको पाँचौं तथा अन्तिम खेलमा हेल्प नेपालले श्रीलंकाको श्रीलंका पोर्ट्स अथोरिटीलाई चुनौती प्रस्तुत गर्ने छ।
लिग चरणमा शीर्ष दुईमा रहने टिम उपाधिका लागि भिड्नेछन्। तेस्रो र चौथो स्थानमा रहनेले तेस्रो स्थानका लागि खेल्नेछन्।