काठमाडौं। नेपाली राष्ट्रिय टोलीका युवा मिडफिल्डर लाकेन लिम्बू क्याम्बोडियाको शीर्ष डिभिजन क्लब किरिभोङ सोक सेन चे एफसीमा अनुबन्ध भएका छन्।
२२ वर्षीय लिम्बूलाई क्लबले सोमबार अनुबन्ध गरेको घोषणा गरेको हो। उनी सिंगापुरमा हुर्किएका थिए। त्यहीँको युवा फुटबल संरचनाबाट हुर्किएपछि उनी नेपाल फर्किएर व्यवसायिक फुटबल यात्रा सुरु गरेका थिए।
उनले छोटो समयमै नेपाल राष्ट्रिय टोलीमा स्थान बनाएका थिए। पछिल्लो दुई वर्षदेखि निरन्तर अन्तर्राष्ट्रिय फुटबल खेलिरहेका छन्।
राष्ट्रिय टोलीबाट एएफसी छनोट खेलमा एक गोल गरेका उनले ‘इमर्जिङ प्लेयर अफ द सिजन’ को उपाधि पनि जितेका छन्। उनले थ्री स्टार, मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाइजबाट ‘ए’ डिभिजन लिग खेलेका छन्। यस्तै, झापा एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेलेको उनीसँग अनुभव छ।
उनले भारतको आइ–लिग क्लब दिल्ली एफसीमा पनि एक सिजन बिताएका थिए। क्लबमा आबद्ध भएपछि लिम्बूले भने, ‘किरिभोङको प्रतिनिधित्व गर्नु मेरो लागि ठूलो सम्मानको कुरा हो। म नेपाल र भारतमा चार वर्षदेखि व्यवसायिक फुटबल खेलिसकेको छु र त्यो अनुभवलाई अब क्याम्बोडियामा प्रयोग गर्न उत्साहित छु।’
किरिभोङले गत सिजन ११ टिम सहभागी लिगमा १०औं स्थानमा रहेको थियो। टोलीले १ जित र ३ बराबरीको नतिजा निकालेको थियो। लिगमा रिलिगेसनको व्यवस्था छैन।