काठमाडौं। बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तयारीमा जुटेको नेपाल अहिले भुटानसँग ‘जसरी भए पनि’ खेल्ने उपाय खोजिरहेको छ।
यस्तो अवस्थामा प्रश्न उब्जन्छ– भुटान साँच्चिकै विकल्प हो? कि नेपाली फुटबलको यथार्थको ऐना? अखिल नेपाल फुटबल संघ (एन्फा)ले २३ असारमा सार्वजनिक रूपमा सेप्टेम्बर ६ र ९ मा दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण खेल हुने घोषणा गरेको थियो।
यो एएफसी एसियन कप छनोटको तयारीका लागि हो। तर, अब त्यो घोषणा अनिश्चित भइसकेको छ। बंगलादेशले दक्षिण एसियाभन्दा बाहिरको टोलीसँग खेल्ने निर्णय गरेपछि नेपाली तयारी भताभुङ्ग भएको हो।
हम्जा चौधरीजस्ता इङ्लिस प्रिमियर लिग खेल्ने खेलाडी भित्र्याएको, एसियन कपमा महिला टोली छनोट भएको र अन्तर्राष्ट्रिय रूपमा ‘हाइप’ बनाइरहेको बंगलादेशका लागि नेपालसँग खेल्नु अब तामझाम कम र जोखिम बढी हुने देखिन्छ।
‘प्लान बी’ कि ‘ब्याक अप अफ ब्याक अप’?
यस्तो अवस्थाको सामना गर्न एन्फाले अहिले भुटान विकल्पका रूपमा हेरिरहेको छ। तर यो ‘प्लान बी’ होइन। यो त ‘ब्याक अप अफ ब्याक अप’ हो। अर्थात् योजना नभएको अवस्थाको हतारो।
एन्फाका एक पदाधिकारीले खेलपाटीसँग भने,‘अब त हाम्रो विकल्प भुटान मात्र हो। अरु राम्रा देश त छैनन्। खर्चअनुसार त भुटानसँग जित्दा पनि अचम्म हुँदैन होला। आखिरमा टिकेटिङदेखि सबै खर्च हामीले गर्दिन पर्छ !’
यो भनाइले कुरा स्पष्ट गर्छ– न त एन्फामा दीर्घकालीन रणनीति छ, न त प्रतिस्पर्धाको भावना।
परेको अवस्थामा विकल्प खोज्नु स्वाभाविक हो। तर, प्रश्न उठ्छ– एन्फाले किन बंगलादेशसँग सहमति नै नगरी एकहोरो मिति घोषणा गरेको? किन दशरथ रंगशालाको अवस्था नसुधारेको? जसका कारण मार्चमा घरेलु मैदानमा हुनपर्ने खेल मलेसियामा सारियो?
२०२४ मा एएफसीले दशरथ रंगशालालाई सुरक्षा र पूर्वाधारमा कमजोरी रहेको ठहर गरेको थियो। त्यसयता नेपालमा अन्तर्राष्ट्रिय खेल हुन सकेको छैन। तर, यतिका समय भइसक्दा पनि मैदान सुधार्ने पहल खासै देखिएको छैन।
अझ विडम्बनाको कुरा भुटानसँगको खेलबारे औपचारिक पनि संवाद हुन नसकेर तेस्रोपक्षको माध्यमबाट कुराकानी गरिरहनु परेको छ। ती पदाधिकारी भन्छन्, ‘साथी साथीको मार्फतबाट हामीले कुरा गरिरहेका छौं। नेपालले बोलाए पक्का आउँछौं भनेर भुटानले भनेको छ।’
नेपाल अहिले एएफसी एसियन कप छनोटको समूह ‘एफ’ मा पुछारमा छ। दुई खेलमा हार बेहोरेको टिमले अक्टोबर ९ मा भियतनामको घरेलु मैदानमा खेल्नुपर्ने छ।
यस्तो अवस्थामा प्रतिस्पर्धात्मक तयारी अत्यन्त आवश्यक थियो। तर, एन्फाले पछिल्लो समय ‘फायरफाइटिङ’ शैली अपनाउँदै आएको छ।
बंगलादेशसँग संवाद नै नगरी वचनकै भरमा मिति घोषणा गर्नु, श्रीलंकासँगको प्रस्ताव अस्वीकार गर्नु, रंगशालाको असुरक्षित तथा अवस्थित बनाउनु र अब भुटानसँग ‘जसरी भए पनि खेलाउने’ रणनीति बनाउनतर्फ लाग्नुले देखाउँछन्– नेपाली फुटबल सही गन्तव्यतिर होइन, अझै पनि बाटो खोज्न रुम्लिरहेको छ।
भुटान नेपालको फुटबल स्तरभन्दा कमजोर हुन सक्छ। तर, यो खेल भए प्रतियोगिताको होइन, राजनीतिक र रणनीतिक गलत योजनाको नतिजा छर्लंङ देखिने छ। कोही खेल्न नमानेको अवस्थामा भुटानसँग खेलेर आत्मविश्वास बढाउने मनसाय ठीकै हो। तर, भुटान नै विकल्पमा हुनुनै लाजमर्दो हो।
यदि दशरथ रंगशालामा भुटानसँग खेल्ने हो भने त्यो खेलले नेपाली टिमलाई अभ्यास त हुन सक्छ। तर, प्रतिस्पर्धात्मक फुटबल युगमा नेपाललाई कहाँ उभ्याउँछ ? त्यो सोच्ने पर्ने हुन्छ।