काठमाडौं। सिग्ने गाउप्सेट महिला युरोपियन च्याम्पियनसिपको इतिहासमा एउटै खेलमा दुई गोल गर्ने सबैभन्दा कान्छी खेलाडी बनेकी छन्। बिहीबार भएको खेलमा उनले नर्वेलाई आइसल्यान्डमाथि ४–३ को जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेकी हुन्।
युएएफएका अनुसार २० वर्ष २२ दिनकी गाउप्सेटले नेदरल्यान्ड्सकी भिभियाने मिडेमाको कीर्तिमान तोडेकी हुन्। उनले सन् २०१७ को फाइनलमा २१ वर्ष २२ दिनको उमेरमा दुई गोल गरेकी थिइन्।
गाउप्सेटले खेलको २६ मिनेटभित्रै दुई गोल गरेकी मात्र होइन, नर्वेका बाँकी दुई गोलमा पनि असिस्ट दिएकी थिइन्। ती दुई गोल दोस्रो हाफमा फ्रिडा मानुमले गरेकी हुन्।
पहिल्यै समूह 'जी'को शीर्ष स्थान पक्का गरिसकेको नर्वेका लागि यो जितको अर्थ बढी आत्मविश्वास हो। अर्कोतर्फ प्रतियोगिताबाट बाहिरिइसकेको आइसल्यान्ड अन्तिम खेलमा सानदार प्रदर्शन गर्दै सकारात्मक रूपमा घर फर्किन चाहन्थ्यो।
नर्वेले समूह 'जी' मा ९ अंकसहित शतप्रतिशत जित दर्ता गर्यो। स्विट्जरल्यान्ड र फिनल्यान्डबीचको खेल १–१ को बराबरीमा सकियो। यद्यपि, स्विट्जरल्यान्ड गोलअन्तरका आधारमा समूहको दोस्रो स्थानमा रहँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइसल्यान्ड तीनै खेल हार्दै समूहको पुछारमा रह्यो।
अब नर्वेले जुलाई १६ मा जेनेभामा समूह 'बी' को उपविजेतासँग क्वार्टरफाइनल खेल्नेछ। उक्त समूहबाट स्पेन, इटाली वा पोर्चुगलमध्ये एक टिम नर्वेको प्रतिद्वन्द्वी हुनेछ। ती टिमबीचको अन्तिम खेल शुक्रबार हुनेछ।