काठमाडौं। इल्के गुन्डोगानले दुई गोल गरे। एर्लिङ हालान्डले पेनाल्टीबाट गोल थपे।
योसँगै म्यानचेस्टर सिटीले सोमबार बिहान सम्पन्न क्लब विश्वकपमा अल ऐनमाथि ५–० को एकतर्फी जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
क्लाउडियो एचेभेरी, ओस्कार बोब र रायन चेरकीले पनि गोल गरे। यस जितसँगै सिटीले आफ्नो निराशाजनक सिजनलाई उत्साहजनक ढंगले समाप्त गर्ने ठूलो प्रयास गरेको छ।
इंग्लिस क्लब सिटीले यस सिजन प्रिमियर लिगमा लगातार चार उपाधि जितेपछि पहिलोपटक तेस्रो स्थानमा सन्तोष मान्नुपर्यो। च्याम्पियन्स लिगमा पनि नकआउट चरणमा रियल मड्रिडसँग पराजित भयो।
पहिलो खेलमा मोरक्कोको विडाडमाथि २–० को जित निकालिसकेपछि पूरै नयाँ लाइनअपसहित सिटी मैदान उत्रिएको थियो। सिटीले अमेरिकाको एटलान्टामा युएईको क्लब अल ऐनविरुद्ध पूर्ण दबदबा देखायो।
सिटीको पक्षमा ७४ प्रतिशत बल नियन्त्रण रह्यो। उसले अल ऐनमाथि २१–५ को शट्सको भारी अग्रता बनायो।
हालान्डले आफ्नो ३२ औं सिजन गोल पेनाल्टीमार्फत् गरे। भिडियो रिभ्युबाट म्यानुअल आकान्जीलाई डिबक्समा रामी राबियाले फल गरेको पुष्टि भएपछि सिटीलाई पेनाल्टी दिइएको थियो। चेरकीले अन्तिम मिनेटमा गोल गर्दै नयाँ क्लबका लागि पहिलो गोल गरे।
प्रतिक्षित नतिजाले सिटी र इटालियन क्लब युभेन्ट्स (दुवै २–०–०) लाई समूह 'जी' बाट अन्तिम १६ मा पुर्यायो। अल ऐनले पहिलो खेलमा पनि युभेन्ट्ससँग ५–० को हार व्यहोरेको थियो।
सिटी सात टोली पुरानो ढाँचाको क्लब विश्वकपको विजेतासमेत हो।