काठमाडौं। नेपाली टिम होरा ईस्पोर्ट्स ‘पब्जी मोबाइल विश्वकप २०२५’ मा छनोट भएको छ । होरा ईस्पोर्ट्स पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ २०२५ मा सहभागी तीन नेपाली टिममध्ये विश्वकप यात्रा तय गर्ने एक्लो टिम बनेको हो ।
होरा ईस्पोर्ट्सले कजाखस्तानको अल्माटीमा आइतबार सम्पन्न सुपर लिगका १८ खेलमा एक सय ३९ अंक जोड्दै दोस्रो स्थान हासिल गरेको थियो । यो प्रतियोगितामा मंगोलिया–चिनियाँ टिम अल्फा गेमिङ एक सय ७० अंकसहित पहिलो भयो भने पाकिस्तानको फोरथ्राइभ्स ईस्पोर्ट्स एक सय ३७ अंकसहित तेस्रोमा रह्यो ।
कुल २ लाख अमेरिकी डलर पुरस्कारको प्रतियोगिताबाट शीर्ष तीन टिम टिम विश्वकपमा छनोट हुने प्रावधानअनुसार अल्फा गेमिङ, होरा ईस्पोर्ट्स र फोरथ्राइभ्सले विश्वकपमा स्थान बनाएका हुन् । कुल ३० लाख डलर पुरस्कारको पब्जी मोबाइल विश्वकप २०२५ साउदी अरेबियाको रियादमा जुलाई २५ देखि अगस्ट ३ सम्म सञ्चालन हुनेछ, जहाँ २४ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
डीआरएस बाहिरियो
डीआरएस गेमिङ इन्डोनेसियाको जकार्तामा तीन वर्षअघि भएको पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपमा उपविजेता भएको थियो, जुन पब्जी मोबाइलमा नेपाली टिमको सबभन्दा ठूलो उपलब्धि हो । तर, उसले अल्माटीमा भएको सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्न सकेन र विश्वकप २०२५ मा स्थान चुक्यो ।
२० टिम सहभागी सुपर लिगमा नेपालका होरा ईस्पोर्टस्सहित डीआरएस गेमिङ र ट्राइब एरोमेसीले प्रतिस्पर्धा गरेका थिए । ट्राइबले दसौं स्थानमा रहँदै प्रतियोगिता टुंग्यायो भने डीआरएस ११ औं स्थानमा रह्यो ।