काठमाडौं। ब्राजिलको फ्लुमिनेन्सले फिफा क्लब विश्वकपमा पहिलो जित हात पारेको छ।
मेटलाइफ रंगशालामा आइतबार बिहान भएको खेलमा फ्लुमिनेन्सले दक्षिण कोरियाको उल्सान एचडी एफसीलाई ४–२ ले पराजित गरेको हो।
यो नितजासँगै २ खेलमा ४ अंक जोडेको फ्लुमिनेन्स समूह ‘एफ’ को शीर्ष स्थानमा छ। दुवै खेलमा पराजित उल्सान प्रतियोगिताबाट बाहिरिएको छ।
फ्लुमिनेन्सलाई जित दिलाउन जोन एरियास, नोनाटो, जुआन पाब्लो फ्रेयट्स र केनोले गोल गरे। उल्सानका लागि ली जिन–ह्युन र उम वोन–साङले गोल फर्काए।
खेलको २७औं मिनेटमा जोन एरियासको गोलमार्फत फ्लुमिनेन्सले अग्रता लिएको थियो। तर, त्यसको १० मिनेटपछि नै जिन ह्युनले उल्सानलाई बराबरीमा ल्याए।
पहिलो हाफको इन्जुरी समयमा वोन साङ्ले गोल गर्दै उल्सानको अग्रता २–१ मा पुर्याए। ६६औं मिनेटमा नोनाटोको गोलमार्फत फ्लुमिनेन्स बराबरीमा फर्कियो। ८३औं मिनेटमा पाब्लो फ्रेयट्सले गोल गर्दा टोलीको अग्रता ३–२ मा पुग्यो।
इन्जुरी समयमा केनोले गोल गर्दै फ्लुमिनेन्सलाई ४–२ को जित दिलाए।