काठमाडौं। ओपनर जर्ज मुन्सेको अर्धशतकसँगै घरेलु टोलीले स्कटल्यान्ड टी–२० त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाललाई १९४ रनको विशाल लक्ष्य दिएको छ।
टस जितेर पहिला ब्याटिङ थालेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९३ रन बनाएको हो।
स्कटल्यान्डका ओपनर मुन्सेले सर्वाधिक ७८ रन बनाए। ३९ बल खेलेका उनले ५ चौका र ६ छक्का प्रहार गरे। उनले ब्रान्डन म्याकमुलनसँग दोस्रो विकेटका लागि १०० रनको साझेदारी गरेका थिए। उक्त साझेदारी कुशल भुर्तेलले १२.४ ओभरमा तोडे।
ब्रान्डले भने ३० बलमा ४ चौका र १ छक्कासहित ४२ रन बनाए। माइकल लीस्क २६ र म्याथ्यु क्रोस १७ रनमा अविजित रहँदा अन्य ब्याटरले राम्रो प्रदर्शन देखाउन सकेनन्।
नेपालका कुशलले सर्वाधिक २ विकेट लिए। २ ओभर बलिङ गरेका उनले २० रन खर्चिए। रुपेश सिंह, ललितनारायण राजवंशी र सन्दीप लामिछानेको नाममा समान १ विकेट रह्यो।