काठमाडौं । ब्याडमिन्टन ट्यालेन्ट हन्टको दोस्रो संस्करण यस वर्ष समेत सञ्चालन हुने भएको छ ।
अखिल नेपाल ब्याडमिन्टन संघको आयोजनामा असारको दोस्रो साता काठमाडौंमा ट्यालेन्ट हन्ट कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा सञ्चालन हुुने कार्यक्रम असार १० देखि १२ गतेसम्म काठमाडौंमा हुनेछ । कार्यक्रमका लागि असार ७ गते देखि देशैभरका विद्यालयबाट खेलाडीहरु छनोट गरिनेछ ।
छनोटबाट आएका खेलाडीलाई समावेश गरेर असार १० देखि १२ गतेसम्म काठमाडौंमा वरियता प्राप्त खेलाडी समेत सहभागी हुने ट्यालेन्ट हन्ट प्रतियोगितामा सहभागी गराईने आयोजक संस्थाका अध्यक्ष तिलक पाण्डेले जानकारी दिए ।
ब्वाईज र गल्र्स दुई विधामा सञ्चालन हुने कार्यक्रममा यू–१३, यू–१५ र यू–१७ स्पर्धालाई समावेश गरिएको छ । प्रत्येक विधाका विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । ईच्छुक खेलाडीले ५ सय शुल्क तिरेर नाम दर्ता गर्न सक्नेछन् ।
युवा खेलाडीलाई अवसर दिने उद्धेश्यले ट्यालेन्ट हन्टको दोस्रो सिजन सुरु गरिएको अध्यक्ष पाण्डेले जानकारी दिए । ‘कुनै पनि खेलाडीको राष्ट्रिय तथा अन्तराष्ट्रिय यात्राको पहिलो पाईलाको रुपमा यस कार्यक्रमलाई विकास गर्ने उद्धेश्य राखेका छौं ।’ पाण्डेले भने ।
