काठमाडौं । नेपाल अटोमोबाईल एसोसियसन (नासा नेपाल)ले मोटर स्पोर्ट्सको ईभेन्टमा स्वीकृति अनिवार्य गरेको छ ।
नासा नेपालले सुचना जारी गर्दै मोटर र मोटरसाइकल स्पोर्ट्स, रेसिङ्, र्यालिङ्ग तथा टुरिङ्ग, कार्टस् तथा पावरबोट र सिम रेसिङ् जस्ता इभेन्ट र कार्यक्रममा संघको स्वीकृतिलाई अनिवार्य गरेको हो ।
नासा नेपालका कार्यकारी निर्देशक गोबिन्द भट्टराईले नेपालको ऐन, कानुनलेनै राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमका लागि खेलकुदको कार्यकारी निकाय र संघको स्वीकृति अनिवार्य गरेकाले त्यसलाई लागु गर्न खोजिएको बताए ।
‘खेलकुद सम्बन्धि कुनैपनि कार्यक्रम र प्रतियोगिता सरकारी निकाय मार्फत आबद्धता र स्वीकृति गराउनु सबैको हितमा हुने विषय मात्र नभई विद्यमान कानुनी र प्रचलित व्यवस्था पनि हो ।’ भट्टराईले भने ।
संघसँग स्वीकृति नलिएर सञ्चालन गरिएका मोटर स्पोर्ट्सका कार्यक्रम तथा इभेन्टमा धेरै विवाद निम्तने गरेको देखिएकाले त्यसको स्वीकृतिलाई अनिवार्य गर्न लागिएको नासा नेपालले जनाएको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४५ को १ मा नीति क्षेत्र वा अन्य संघ संस्थाले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना वा सञ्चालन गर्नु अघि सम्बन्धित खेल संघ वा महासंघको सिफारिस सहित परिषद्को स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
नासा नेपाल मोटर स्पोर्ट्सको क्षेत्रमा काम गर्ने गरी राष्ट्रिय खेलकुद परिषद्मा दर्ता रहेको राष्ट्रिय खेल संघको रुपमा रहेको छ । जसले नेपालमा मोटर स्पोर्ट्सको क्षेत्रमा काम गर्न अन्तराष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए)बाट समेत सदस्यता प्राप्त गरेको छ ।
संघका अध्यक्ष दशरथ रिसालले देशको नियम कानुन विपरित विभिन्न किसिमका कार तथा मोटरसाइकलका रेसिङ, र्यालिङ्ग तथा टुरिङ लगायतका प्रतियोगिता भैरहेको उल्लेख गर्दै त्यसले ड्राइभर, राइडर तथा प्राविधिकहरुको सुरक्षा, पेशागत हित र विकास, राष्ट्रिय–अन्तर्राष्ट्रिय सहभागीत, खेलकुद तथा पर्यटनको दिगोपनामा चुनौती थपेको बताए ।
‘व्यवसायिक स्वार्थ र निजि फाइदाको लागि मात्र, खेलाडी र प्राविधिकको ट्रेनिङ्ग र गुणस्तर, सुरक्षा र खेलकुदको मूल्य र मान्यता जस्ता कुरामा खेलबाड गर्दै साहसीक खेलकुद-इभेन्ट जस्तो अतिनै संवेदनशिल खेलमा हुने कुनैपनि गैरजिम्मेवार कार्य संघलाई कदापि मान्य हुनेछैन ।’ रिसालले भनेका छन् ।