काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबसँगै प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा कुनै टोली बलियो देखिएको थियो भने त्यो, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नै थियो।
यो क्लबले समूहचरणको कुनै पनि खेल नगुमाई सहजै सेमिफाइनलमा स्थान पनि बनायो। तर, एभरेस्ट भलिबल क्लब र गण्डकी प्रदेश भलिबल संघमाथि ३–० को सोझो सेटमा जित हासिल गरेको न्यु डायमन्डले फाइनल प्रवेश गर्न भएको भिडन्तमा भने एपिएफसँग अपत्यासित हार बेहोर्यो।
त्यो हार पनि यस्तो रह्यो कि न्यु डायमन्डले कुनै पनि सेट आफ्नो पक्षमा पार्नै सकेन र ३–० ले पराजित भयो। त्यो न्यु डायमन्ड अब प्रतियोगिताको तेस्रो स्थान हात पार्न केहीबेर पछि एभरेस्टलाई चुनौती प्रस्तुत गर्नेछ।
समूह चरणको पहिलो खेलमा न्यु डायमन्डले एभरेस्टलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। अधिकांश राष्ट्रिय टोलीका खेलाडीले भरिएको न्यु डायमन्डले उक्त खेलमा एभरेस्टलाई चल्नै दिएको थिएन। यसपल्ट भने एभरेस्टलाई उक्त हारको बदला लिने मौका छ।