पोखरा। प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बुधबार पनि दुई खेल हुने भएका छन्।
पोखरा कभर्डहलमा हुने पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब लगातार दोस्रो जितको खोजीमा हुनेछ। पुलिसले ३ बजे स्टेप रामपुरसँग प्रतिस्पर्धा गर्नेछ।
पहिलो खेलमा पुलिसले विभागीय डर्बीमा एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। स्टेपको भने पहिलो खेल हो। विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहभागिता जनाउन अस्वीकार गरेपछि स्टेपले मौका पाएको थियो।
अर्को खेलमा न्यु डायमण्ड युथ क्लब पनि लगातार दोस्रो जितको खोजीमा हुनेछ। ५ बजे हुने खेलमा न्यु डायमण्डले घरेलु टोली गण्डकी प्रदेश भलिबल संघलाई चुनौती प्रस्तुत गर्नेछ।
गण्डकीको यो पहिलो खेल हो। न्यु डायमन्डले भने एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै सुखद् सुरुआत गरेको थियो।