पोखरा। प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन विभागीय डर्बीले गर्ने भएको छ।
आयोजक नेश्नल स्पोर्ट्स एकेडेमीले सोमबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै पहिलो खेलमा नेपाल पुलिस क्लब र एपिएफ क्लब भिड्ने जानकारी दिएको हो।
पोखरा रंगशालाको कभर्डहलमा हुने प्रतियोगितामा यी दुई टोली मंगलबार भिड्नेछन्। खेल अपरान्ह्र ४ बजे हुनेछ। खेलको प्रत्यक्ष प्रसारण खेलपाटीको युट्युब च्यानल (खेलपाटी टिभी)मा हेर्न सकिनेछ ।
यी दुई टोली पोल ए मा छन्। यो पोलमा स्टेप रामपुर छ। अर्को पोलमा भने न्यु डायमन्ड स्पोर्ट्स क्लब, गण्डकी प्रदेश र एभरेस्ट भलिबल क्लब छन्। पहिलो खेल सकिएलगत्तै न्यु डायमन्ड र एभरेस्ट भिड्नेछन्।
विभागीय टिम त्रिभुवन आर्मीले सहभागी हुन नसक्ने जनाएपछि रामपुरलाई अवसर प्रदान गरिएको आयोजकले जनाएको छ।
राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ र तेस्रो हुने टिमले एक लाख रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागततर्फका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिताको लिग चरणका खेल हेर्न २ सय र फाइनल दिनको खेल हेर्न ४ सय रुपैयाँ टिकटको व्यवस्था गरिएको छ । उद्घाटन दिनमा दर्शकलाई नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ।