काठमाडौं। ‘हामी जन्मेकै च्याम्पियन बन्न हो। त्यसैले डराएर हैन, खेलेरै देखाउँछु।’
मोरोक्को राबातको कराते रिङमा उत्रिँदा एरिका गुरुङले आत्मविश्वासले भरिएका यिनै शब्दहरू बोकेकी थिइन्। उनले यी शब्दलाई आइतबार वास्तविकतामा उतार्दै इतिहास रचिन्।
कराते वान प्रिमियर लिगको महिला ६८ केजीमाथिको तौल समूहमा फ्रान्सकी क्लेमेन्स पिएलाई ६–२ ले हराउँदै कांस्य जित्दा उनी मात्र पदक विजेता हैन, नेपाली करातेका लागि एउटा प्रतीक बनिन्।
‘यो बिग मुभमेन्ट हो, तर म यसलाई बिगिनिङको रूपमा हेर्छु,’ ऐतिहासिक जितपछि हतारिएको सासजस्तै धकधकी रहेको भावुक स्वरमा एरिका भन्छिन्।
एरिका मोरोक्को पुग्दा एक रिसेप्सन डेस्कमा पहिलो पटक आयोजकको मुखबाट नेपाल शब्द सुनिन्। ‘त्यो मेरो लागि अविस्मरणीय थियो,’ उनी भन्छिन्, ‘र, त्यसपछि त्यही मान्छेले जब मेडल सेरेमनीमा मलाई देखेर नेपाल पहिलो पटक आएको हो र पदक पनि जित्यो भन्यो त्यो गर्वको क्षण थियो।’
यस पटकको पदक उनको व्यक्तिगत जित मात्रै थिएन। यो नेपालले पहिलो पटक विश्वकै शीर्ष ३२ खेलाडी मात्र खेल्न पाउने प्रतिष्ठित लिगमा पाइला टेकेको प्रमाण थियो। टर्की र इटलीका खेलाडीलाई हराउँदै एरिका सेमिफाइनलसम्म पुगेकी थिइन्। तर, स्पेनकी विश्व च्याम्पियन मारिया टोरेस गार्सियासँगको भिडन्तमा ५–५ को बराबरी भए पनि ‘सेन्सु’का आधारमा उनी पछि परिन्।
प्रशिक्षकबिना खेल्नु सामान्यतया कमजोरी मानिन्छ। तर, एरिकाको अनुभव फरक थियो। ‘मैले गुरु नभएको म्याचमा पनि कमजोर महसुस गरिनँ, उनी भन्छिन्, ‘मैले हरेक खेलपछि गुरुलाई फोन गर्थें। गल्तीहरूमा छलफल गर्थें। अनि अर्को म्याचमा त्यो सुधार गर्थें।’ उनले वर्ल्ड च्याम्पियनसँगको प्रतिस्पर्धालाई ‘अनरशिप’ मानेकी छिन्।
‘टेक्निकल वाइज उनी मभन्दा उनी अगाडि थिइन् होला। तर, अनुभवले मलाई अझ बलियो बनायो। म अब अर्कोपल्टका लागि तयार छु,’ उनी फुरुङ छिन्।
एरिकाको आत्मविश्वास बोल्छ– नेपाली पनि त्यही स्तरका खेलाडी हुन्। अन्य देशको तुलनामा प्रशिक्षण र खेल पनि अब्बल छ। फरक के छ भने नेपालीमा अझै धैर्यपूर्वक खेल्ने बानी छैन। उनले पनि त्यो महसुस गरेकी छन्।
उनले बारम्बार गुरु कुशल श्रेष्ठलाई स्मरण गर्छिन्। रावतमा एरिकाले खेलिरहँदा कुशल उत्सुकताका साथ अनलाइनमा हेरिरहेका थिए। कुशल तीनै गुरुङ हुन्, जसले १९औं एसियाली खेलकुदमा पनि एरिकालाई ऐतिहासिक पदक दिलाउन तयार पारेका थिए।
यसपल्टको सफलतामा पनि कुशलकै ठूलो हात रहेको एरिका मान्छिन्। ‘यो लिगमा पुर्याउन गुरु कति रात सुत्नु भएन होला। तर, मैले अझै धन्यवाद भनेकी छैन। अझ राम्रो दिन आउँदैछन्। त्यो दिन धन्यवाद दिन चाहन्छु,’ उनी भन्छन्।