काठमाडौं। ब्राजिलको नवनियुक्त मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले नेयमार जुनियर आफ्नो योजनामा नरहेको बताएका छन्।
उनले आफ्नो पूर्वक्लब रियल मड्रिड स्ट्राइकर भिनिसियस जुनियरबाट अझ राम्रो प्रदर्शन निकाल्ने वाचा गरेका छन्।
ब्राजिलले उनलाई सन् २०२६ मा संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपसम्मका लागि अनुबन्ध गरेको हो। उनले सोमबार नै आफ्नो पहिलो २५ सदस्यीय टोली सार्वजनिक गरिसकेका छन्।
यो टोलीले इक्वेडर र पराग्वेविरुद्धको विश्वकप छनोट खेल खेल्नेछ। हालै मात्र चोटबाट फर्किएर नेयामारले सान्तोसका लागि खेलेका थिए। तर, एन्सेलोटीका लागि त्यो ढिलो भइसकेको थियो।
‘दुर्भाग्यवश, नेयमारजस्ता केही खेलाडी अहिले टोलीमा हुने अवस्थामा छैनन्। तर, ब्राजिलसँग थुप्रै प्रतिभाशाली खेलाडी छन्। नेयमारको हकमा हामी उनलाई आगामी विश्वकपको तयारीमा उपयोग गर्न चाहन्छौं। आज बिहान मैले उनलाई फोन गरेर यो निर्णयबारे बताएँ। उनी यससँग पूर्णरूपमा सहमत छन्,’ एन्सेलोटीले भने।