काठमाडौं। पुर्चुगिज फुटबल आइकन क्रिस्टियानो रोनाल्डोले अल–नासर छाड्ने संकेत दिएका छन्। साउदी प्रो लिगको सिजन सकिएसँगै उनले सोमबार सामाजिक सञ्जालमा एक सन्देश लेख्दै भनेका छन्,‘यो अध्याय सकियो।’
४० वर्षीय रोनाल्डो सन् २०२२ मा म्यानचेस्टर युनाइटेडबाट अल–नासर पुगेका थिए। उनको सम्झौता यस समरमा समाप्त हुँदैछ। अर्को महिनादेखि अमेरिकामा क्लब विश्वकपमा सुरु हुँदैछ।
उक्त प्रतियोगितामा सहभागी हुने ३२ क्लबले खेलाडी अनुबन्ध गर्न सक्ने विशेष ट्रान्सफर विन्डो जुन १ देखि १० सम्म खुल्नेछ। अल–नासरको जर्सीमा रहेको आफ्नो फोटोसहित रोनाल्डोले सामाजिक सञ्जालमा लेखेका छन्,‘यो अध्याय सकियो। कथा अझै लेखिँदै छ। सबैप्रति आभारी छु।’
रियल मड्रिड र युभेन्ट्सका पूर्वखेलाडीले यो पोस्ट अल–नासरले सिजनको अन्तिम खेलमा अल–फातेहसँग ३–२ ले हार खेपेको केही घण्टापछि गरेका हुन्। उक्त हारसँगै अल–नासरले लिगमा तेस्रो स्थानमा सन्तोष मान्नुपर्यो।
यस सिजन अल–नासरले एसियन च्याम्पियन्स लिग इलाइटको मौका पनि गुमायो। अप्रिलमा जापानको कावासाकी फ्रन्टालेसँग सेमिफाइनलमा पराजित भएपछि क्लब प्रतियोगिताबाट बाहिरिएको थियो।
यद्यपि, रोनाल्डोले व्यक्तिगत रूपमा भने उत्कृष्ट प्रदर्शन गरे। साउदी प्रो लिगमा २४ गोल गर्दै उनले सिजनको सर्वाधिक गोलकर्ता बन्ने उपाधि जिते।
पाँच पटक बालोन डी’ओर जितिसकेका रोनाल्डोले गत वर्ष अल–नासरमै आफ्नो करियरको अन्त्य गर्न चाहेको बताएका थिए। तर, अहिलेको सन्देशले भने उनी नयाँ यात्राको तयारीमा रहेको संकेत देखिएको छ।