काठमाडौं। बुन्डेसलिगा क्लब बायर लेभरकुजेनले म्यानचेस्टर युनाइटेड पूर्व प्रशिक्षक एरिक टेन हागलाई जाभी अलोन्सोको उत्तराधिकारीका रूपमा नियुक्त गरेको छ।
क्लबले सोमबार जानकारी दिँदै ५५ वर्षीय डच प्रशिक्षकसँग सन् २०२७ सम्मको सम्झौता गरेको जनाएको छ। टेन हागले बुन्डेसलिगामा दोस्रो स्थानमा रहेर र जर्मन कपको सेमिफाइनलसम्म पुगेको टोलीको जिम्मेवारी लिएका छन्।
अलोन्सोको नेतृत्वमा लेभरकुजेनले अघिल्लो सिजन दुवै उपाधि जित्दै बुन्डेसलिगा इतिहासमा अपराजित च्याम्पियन बन्ने पहिलो टोली बनेको थियो। त्यसपछि अलोन्सो रेयाल मड्रिडको मुख्य प्रशिक्षक बन्न क्लब छाडेका हुन्।
युनाइटेडबाट सन् २०२४ को अक्टोबरमा बर्खास्त भएपछि उनले पहिलोपल्ट क्लब सम्हाल्न लागेका हुन्। युनाइटेडमा दुई वर्षभन्दा बढी बिताउँदा उनले दुई घरेलु कप जितेका थिए। तर, क्लबको सुरुआती नौ खेलमा चार हारपछि उनलाई बर्खास्त गरिएको थियो।