काठमाडौं। नवनियुक्त मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी ब्राजिल पुगेका छन्।
आइतबार बेलुका करिब ९ बजे उनी रियो दि जेनेरियो विमानस्थलमा ब्राजिलको राष्ट्रिय टोलीको क्याप लगाएर पुगेका हुन्। उनलाई सोमबार औपचारिक रूपमा सार्वजनिक गर्ने कार्यक्रम छ।
उनी पछिल्ला १०० वर्षमा ब्राजिलको राष्ट्रिय टोलीको पूर्णकालीन प्रशिक्षक बनेका पहिलो विदेशी हुन्।६५ वर्षीय इटालियन प्रशिक्षक आफ्ना परिवारका सदस्य र सहायक प्रशिक्षकको साथ निजी विमानमार्फत ब्राजिल पुगेका हुन्।
सोमबार उनले इक्वाडोर र पराग्वेविरुद्ध हुने विश्वकप छनोटका खेलका लागि टोलीको घोषणा गर्ने कार्यक्रम पनि छ। एन्सेलोटीको आगमनको केही घण्टापछि मात्रै ब्राजिल फुटबल महासंघ (सिबिएफ) को नयाँ अध्यक्षका रूपमा सामिर शाउद निर्वाचित भएका थिए।
अघिल्ला अध्यक्ष एडनाल्डो रोड्रिग्सले नै एन्सेलोटीलाई रियल मड्रिडबाट अनुबन्ध गरेका थिए। तर, कानुनी प्रक्रियामा उनी पदच्युत भएका थिए।
रियो विमानस्थलमा एन्सेलोटीको स्वागतमा कुनै औपचारिक कार्यक्रम राखिएको थिएन। एकजना समर्थक मात्र ब्राजिलको जर्सी लगाएर उनलाई हेर्न आएका थिए।
ब्राजिलका पछिल्ला प्रशिक्षकहरू रामोन मेनेजेस, फर्नान्डो डिनिज र डोरिभाल जुनियर सबै असफल साबित भएका थिए। अर्जेन्टिनासँग ४–१ को हारपछि डोरिभाललाई मार्चमा बर्खास्त गरिएको थियो।
एन्सेलोटीको अनुबन्ध आगामी विश्वकपसम्म कायम रहनेछ। सिबिएफका नेतृत्वसँग भेटेपछि उनले सञ्चारकर्मीहरूसँग कुरा गर्नेछन्।