काठाडौ। घरेलु समर्थक र मुसलधारे वर्षाको बीच माल्दिभ्समाथि ३–० को प्रभावशाली जित निकाल्दै साबिक विजेता भारतले साफ यु–१९ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ।
युपियाको गोल्डेन जुबिली रंगशालामा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा भारतलाई जित दिलाउन ड्यानी माइतेई, ओमाङ दोडुम र प्रशन जाजोले गोल गरे। योसँगै भारतले प्रतियोगितामा लगातार जित र क्लिन सिटको शतप्रतिशत रेकर्ड कायम राखेको छ।
अब भारतले उपाधिका लागि बंगलादेशसँग खेल्नेछ। बंगलादेशले सेमिफाइनलमा नेपाललाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
खेलको सुरुदेखि नै भारत माल्दिभ्सलाई दबाबमा राखेको थियो। १४औं मिनेटमा भारतले पहिलो गोल गर्यो। बायाँपट्टिबाट जाजोले प्रहार गरेको कर्नर बलमा माइतेईले उत्कृष्ट भल्लीमार्फत गोल गरे। यो उनको प्रतियोगिताको पाँचौं गोल हो।
त्यसको ६ मिनेटपछि जाजोले बायाँ विङबाट बल बढाउँदै डिफेन्सको माथिबाट पास गरे। ड्यानीले सानो टच गर्दै स्थानीय खेलाडी दोडुमलाई दिए। उनले नजिकबाट सजिलै गोल गरे।
बंगलादेश र भुटानलाई समान २-२ को बराबरीमा रोकेको माल्दिभ्स भारतीय डिफेन्सका अगाडि निष्क्रिय देखिएको थियो। ६५औं मिनेटमा जाजोले पेनाल्टी बाहिरबाट उत्कृष्ट प्रहार गर्दै भारतको जित सुनिश्चित गरे।