काठमाडौं। रेस नेपालको आयोजनामा जेठ २४ गते शनिबार काठमाडौं र ललितपुरका सम्पदा जोड्ने गरी नेपाल हेरिटेज रन (काठमाडौं २५ के रन) हुने भएको छ।
विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)को बोर्ड बैठक नेपालमा आयोजना हुन लागेको सन्दर्भ पारेर हेरिटेज रन सुरु गर्न लागिएको हो।
विश्व सम्पदा सूचीमा परेका सम्पदाहरू जोड्ने गरी २५ किमी दुरीको दौडको रुट तयार गरिएको छ। नेपालमा पहिलो पटक हुन लागेको हेरिटेज रनले खेलाडीलाई उत्साह थप्ने अपेक्षा आयोजक रेस नेपालले लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भई सुन्धारा, न्युरोड, काठमाडौं दरबार स्क्वायर, रानीपोखरी, दरबारमार्ग, कमलपोखरी, गौशाला, पशुपतिनाथ, तीनकुने, ग्वार्को, पाटन दरबार स्क्वायर, पुलचोक, थापाथली हुँदै दशरथ रंगशाला पुगेर २५ किमी दौड पूरा हुनेछ।
यससँगै विद्यालयस्तरीय विद्यार्थी र भेट्रानतर्फ ५ किमी दौड समावेश गरिएको छ। तीन वटै विधाका दौडका लागि दर्ता खुला भइसकेको आयोजकले जनाएको छ।