काठमाडौं। एक खेलअगाबै प्लानिङ ब्वाइज सहिद स्मारक ‘बी’ डिभिजन लिगको च्याम्पियन बनेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा शीर्ष स्थानमा बढुवा भइसकेको प्लानिङले रेलिगेसनमा परिसकेको नयाँ बस्ती युथ क्लबलाई ५–० ले पराजित गरेको हो।
जितसँगै शीर्ष स्थानको प्लानिङले १२ खेलबाट ३० अंक पुर्याएको छ। दोस्रो स्थानमा रहेको श्री भगवती युथ क्लबको भने २३ अंक छ। भगवतीले एक खेल कम खेलेको छ। अब दुई वटै खेल जिते पनि भगवतीले २९ अंक मात्रै पुर्याउने छ।
पुछारको नयाँ बस्तीको भने १२ खेलबाट पाँच अंक मात्रै छ। प्लानिङको जितमा फागुराम थारुले दुई गोल गरे। ओमप्रकाश चौधरी, प्रतापसिह राईले अर्को गोल थपे। नवीन खवासले आत्मघाती गोल गर्दा प्लानिङलाई सहज भयो।
खेलको ११औं मिनेटमै फागुरामले प्लानिङलाई सुरुआती अग्रता दिलाए। २९औं मिनेटमा ओमप्रकाशले अग्रता दोब्बर बनाए।
४७औं मिनेटमा नवीनले आत्मघाती गोल गर्दा प्लानिङले ३–० को सहज अग्रता लिइसकेको थियो। ५५औं मिनेटमा फागुरामले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे। उनले पेनाल्टीमार्फत गोल गरेका हुन्।
७२औं मिनेटमा प्रतापले गोल गरेसँगै प्लानिङले ५–० को सहज जित हात पार्यो।