मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

काठमाडौं। क्रिकेट विश्वकप लिग २ खेल्न नेपाल आउने तय भएको संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमण अनिश्चित बनेको छ।
इमिरेट्स क्रिकेट बोर्ड (ईसीबी) ले क्षेत्रीय अवस्थाको विकासक्रमलाई नजिकबाट नियालिरहेको छ। हालको परिस्थितिका कारण यूएईले नेपाल भ्रमण गर्ने कि नगर्ने निर्णय हुन बाँकी छ।
यूएईको टोली लिग २ खेल्न आगामी शुक्रबार काठमाडौं आउने तालिका थियो। उक्त प्रतियोगितामा आयोजक नेपाल र ओमान सहभागी छन्। यो प्रतियोगिता आगामी ५० ओभरको विश्वकपका लागि छनोट प्रक्रियाको हिस्सा हो। यसमा सबै टोलीले समान चार एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने तय छ।
तर, खाडी क्षेत्रमा इरानद्वारा गरिएको क्षेप्यास्त्र र ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र बन्द गरिएका छ। त्यसैले यूएई टोलीको नेपाल भ्रमण अनिश्चित बनेको छ। ओमान टोली पनि यस्तै समस्याबाट प्रभावित भएको छ। सोमबार बिहान इमिरेट्स एअलाइन्सले दुबई अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडानकम्तीमा मार्च ३ दिउँसो ३ बजेसम्म स्थगित गरिएको जनाएको थियो।
ईसीबीका प्रवक्ताले टोलीलाई नेपाल पठाउने या नपठाउने भन्नेबारे आयोजकसँग समन्वय भइरहेको बताएका छन्। यसअघि पनि यूएई टोलीले विभिन्न कारणले लिग २ का खेलहरू स्थगित गर्नुपरेको थियो। सन् २०२० मा मस्कटमा रहँदा ओमानका शासक सुल्तान काबुस बिन सइदको निधन भएपछि खेल तालिका प्रभावित भएको थियो।
त्यस चार वर्षे चक्रमा यूएईमा आएको आँधीबेहरी तथा नामिबियामा रहँदा नयाँ कोरोना भेरियन्ट फेला परेपछि पनि खेलहरू सारिएका थिए। यूएई हाल आठ टोली सम्मिलित लिग २ तालिकामा पुछारमा छ। काठमाडौंमा हुने त्रिकोणात्मक सिरिजअन्तर्गत यूएईले मार्च १२ र १८ मा ओमानविरुद्ध तथा मार्च १४ र २० मा नेपालविरुद्ध खेल्ने तालिका छ।
क्षेत्रीय अस्थिरताका कारण यसै महिनाको अन्त्यतिर शारजाहमा हुने अफगानिस्तान र श्रीलंका बीचको सिरिज पनि प्रभावित हुनसक्ने देखिएको छ। अफगानिस्तान क्रिकेट बोर्डले श्रीलंकाविरुद्ध तीन टी–२० र तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल मार्च १३ देखि २५ सम्म आयोजना गर्ने योजना बनाएको छ।
यसबीच, अफगानिस्तानले यस वर्ष भारत भ्रमण गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ। अफगानिस्तानले भारतविरुद्ध जुन ६ देखि चण्डीगढमा एक मात्र टेस्ट खेल्नेछ। त्यसपछि धर्मशाला, लखनउ र चेन्नईमा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने तालिका तय गरिएको छ।











-1772383580216.webp&w=3840&q=75)

%20(1)-1772362880824.jpeg&w=3840&q=75)