इटानगर (भारत)। साफ यु–१९ च्याम्पियनसिप खेल्नुअघि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ गहिरो सास फेर्छन्।
त्यो सासमा कुनै थकाइ छैन। न त विगतका हारको स्मृति नै। दुईपल्ट फाइनल पुगेको उनको टिम दुईपल्ट नै चुक्यो। तर, योल्ट उनी भन्छन्,‘अब त्यो गल्ती फेरि दोहोर्याउँदिन।’
सन् २०१५ मा यु–१९ को नामबाट सुरु भएको यस प्रतियोगिता समान दुई संस्करण यु–१८ र यु–२० को नामबाट भएको थियो । समग्रमा सातौं संस्करणमा आइपुग्दा नेपाल दुईपल्ट (२०१५ र २०१७ मा) लगातार उपाधि जित्न सफल भएको थियो। तर, त्यसपछिका संस्करणमा भने नेपालले त्यो गर्विलो इतिहास दोहोर्याउनै सकेको छैन।
उर्जनको प्रशिक्षणमा रहेको टोली तीन वर्षअघि श्रीलंकाको कोलम्बोमा भएको साफ यु–१७ च्याम्पियनसिपको फाइनलमा पराजित भएको थियो। गत वर्ष घरेलु मैदानमा सुधारिएको प्रदर्शन गर्दै पुन: साफ यु–२० च्याम्पियनसिपको फाइनलसम्मको यात्रा तय गरे पनि खालिहात चित्त बुझाउनुपर्यो। यी दुवै संस्करणमा नेपालको बाधक भारत र बंगलादेश बनेका थिए।
पछिल्लो चार संस्करण यसरी नै चित्त बुझाएको नेपाली यसपल्ट साफ यु–१९ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिँने छ। योपल्टको नेपाली टिमको एउटा बलियो पक्ष छ। त्यो लगातार खेलिरहेको खेलाडीहरूको अनुभव नै हो।
‘हाम्रो उता बी डिभिजन लिग पनि भइरहेको छ। त्यही भएर हामीलाई सजिलो पनि भएको छ। सबै खेलाडी त्यसै लिग खेलिरहेकाले फिटनेस लेबल एकदम हाइ छ। यसपालि हाम्रो टिम स्ट्रङ नै छ जस्तो लाग्छ,’ उर्जन भन्छन्।
नेपाली टोलीको कप्तानी राम थापाले गर्दैछन्। टोलीमा साफ यु–१७ च्याम्पियनसिपमा सर्वाधिक गोल गरेका सुजन डंगोल पनि छन्। उनी ‘बी’ डिभिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडी हुन्। यस्तै, एन्फा यु–१८ युथ लिगमा सर्वाधिक २८ गोल गर्दै राष्ट्रिय टोलीसम्म पुगिसकेका सुवास बम हुँदा टोली अझ बलियो बनेको छ।
विगतको प्रदर्शनलाई पल्टाएर हेर्ने हो भने नेपालले समूह चरणमा भारत र बंगलादेशलाई पनि पराजित गरेको छ। उनको प्रशिक्षणमा नेपालले साफ यु–१७ च्याम्पियनसिपको लिग चरणमा भारतलाई ३–१ ले पराजित गरेको थियो। उक्त प्रतियोगितामा नेपालको कप्तानी सुबासले नै गरेका थिए। तर, फाइनलमा भारतसँग ४–० ले पराजित हुन पुगेको थियो।
गत वर्ष घरेलु मैदानमै भएको साफ यु–२० च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई समूह चरणमा २–१ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो। तर, सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा पराजित गर्दै दुई वर्षपछि उमेर समूहको प्रतियोगितामा फाइनल पुगेको नेपालले अप्रत्याशित ४–१ को फराकिलो हार बेहोर्न परेको थियो।
‘अँ ! लास्ट दुईपल्ट मैले टिम हेरें। हामीले भारतलाई लिग चरणमा हरायौं, तर फाइनलमा हार्यौं। बंगलादेशलाई पनि लिग चरणमा हरायौं। फेरि फाइनलमा हार्यौं। त्यो ब्याड लक थियो। साना गल्तीले हामी हारिरहेका थियौं,’ उर्जन भन्छन्।
यसपल्ट नेपाल र बंगलादेशको भेट भने समूह चरणमा हुनेछैन। तर, भारत र नेपालको भेट भने यही चरणमा हुने पक्का छ। नेपाल र भारत समूह ‘बी’ मा छन्। यो समूहमा श्रीलंका पनि छ। अर्को समूहमा बंगलादेश, भुटान र माल्दिभ्स।
नेपाल र भारतलाई समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टोलीको रूपमा हेरिएको छ। अर्को समूहबाट भने सम्भवतः बंगलादेश र भुटानले नै सेमिफाइनल यात्रा तय गर्नेछन्। त्यसैले नेपाल र बंगलादेशको भेट सेमिफाइनलमै नहोला भन्न पनि सकिँदैन। त्यसैले यसपल्ट अघिल्ला दुई संस्करणमा गरेको गल्तीलाई सुधार गर्ने उर्जन बताउँछन्।
‘हामीले ती सबै गल्तीहरू मिनिमाइज गरेका छौं। यसपालि कसरी भए पनि त्यो गल्ती नगर्ने र फाइनल पुगेर उपाधि जित्ने हाम्रो योजना छ,’ उनी भन्छन्।
लगातार उमेर समूहको टिम हेर्दै आएका उनीसँग अहिलेका खेलाडी पनि परिचित छन्। त्यसैले ती खेलाडीले उनको रणनीति बुझेका छन्। त्यही भएर उनले यो टोलीलाई धेरै कुरा सिकाउन परेको छैन। यो उनका लागि अर्को सहज पक्ष बनेको छ।
‘नयाँ केही यु–१७ का खेलाडी पनि छन्। तर, हामीले उनीहरूलाई टिममा घुलमिल गराइसकेका छौं,’ उनी भन्छन्। शुक्रबार हुने भारत र श्रीलंकाबीचको खेलले नै धेरै कुरा स्पष्ट पार्नेछ। तर, उनी नाम मात्र हेरेर कमजोर टोली हुन भन्ने पक्षमा यसपल्ट छैनन्। किनभने फुटबलको नतिजा प्राय: अनिश्चित हुने गर्दछ।
‘अब हामी भोलि भारत र श्रीलंकाको म्याच हेर्छौं,’ उनी भन्छन्,‘त्यसपछि हामी एनालाइसिस गर्छौं र योजना बनाउँछौं। अहिले सबै टिम टफ नै हुन्छन्। सबैले आफ्नो तयारी गरेर आएका हुन्छन्। कोहीलाई कमजोर मान्ने छैनौं।’