पोखरा। प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा भारतीय टोलीले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको दोस्रो खेलमा भारतीय टोलीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो।
पहिलो सेट २३–२५ ले गुमाएको भारतीय टोलीले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित हासिल गर्न सफल रह्यो। भारतीय टोलीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२१ र चौथो सेट २८–२६ ले आफ्नो पक्षमा पार्यो।
समूह ‘बी’ अन्तर्गतको आगामी खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच हुनेछ। उक्त खेलको नतिजाले सेमिफाइनल जाने टोलीको टुंगो लाग्नेछ।
यसअघि आजै भएको पहिलो खेलमा गण्डकी प्रदेशलाई ३—१ को सेटले पराजित गर्दै इरानी टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। इरानी टोलीले पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटले पराजित गरेको थियो।
समूह ‘ए’ अन्तर्गत अन्तिम खेल शनिबार गण्डकी प्रदेश र एपीएफबीच हुनेछ। उक्त खेलको विजेताले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ। उक्त खेल दिउँसो साढे १२ बजेबाट सुरु हुनेछ। त्यसपछि आर्मी र पुलिसबीचको खेल सुरु हुनेछ।