काठमाडौं। नखिपोट युथ क्लब र संकटाले तेस्रो पिल्मो फेमिली कफी क्लब च्यारिटी फुटसल प्रतियोगिताको उपाधि जितेका छन्। नखिपोट पुरुष तथा संकटा महिलामा च्याम्पियन बने।
कफी क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुष फाइनलमा नखिपोटले वाइबा एफसीलाई सडनडेथ (७–६) मा पराजित गर्यो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो। सुनाकोठीस्थित वाखत फुटसलमा भएको महिलाको उपाधि भिडन्तमा संकटाले हलेसीलाई २–१ गोलले हरायो।
विजेताकी अभानी सिंह र सोविन्या ढकालले गोल गरे। हलेसीकी सविना तामाङले सान्त्वना गोल फर्काइन्।
दुवै समूहका विजेताले २५ हजार तथा उपविजेताले १२ हजार नगद पुरस्कार प्राप्त गरे। पुरुषमा नखिपोटका गोलरक्षक शैलेन्द्र मगर तथा महिलामा संकटाकी अभानी सिंह प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए। नकआउट प्रतियोगिताको पुरुषमा ३१ तथा महिलामा १२ टिम सहभागी थिए।