नेपाललाई पहिलो प्रतिस्पर्धी भुटान

काठमाडौं। नेपालले साफ–२० च्याम्पियनसिपमा पहिलो खेल भुटानसँग खेल्ने भएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले २३ मार्चमा भुटानविरुद्ध खेल्दै प्रतियोगिता सुरु गर्ने भएको हो।
माल्दिभ्सको राजधानी मालेस्थित नेशनल स्टेडियममा आयोजना हुने प्रतियोगिता २३ मार्चदेखि ३ अप्रिलसम्म सञ्चालन हुनेछ।
नेपाल साबिक उपविजेता हो। २०२४ मा नेपालमै भएको प्रतियोगिताको फाइनलमा बंगलादेशले ४–१ ले पराजित गरेको थियो। सोही टिम सम्हालेका उर्जन श्रेष्ठले यसपल्ट मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन्।
नेपालले धर्बेन्द्र कुँवरको कप्तानीमा च्याम्पियनसिप खेल्नेछ। धर्बेन्द्र जावलाखेल युथ क्लबको एकेडेमीका उत्पादन हुन्।
धर्बेन्द्रले गत वर्ष भारतमा भएको साफ यु–१९ च्याम्पियनसिप पनि खेलेका थिए। नेपाल समूह ‘ए’ मा छ। उक्त समूहमा आयोजक माल्दिभ्ससँगै श्रीलंका र भुटान पनि छन्।
नेपालले दोस्रो खेल २५ मार्चमा श्रीलंकासँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल २७ मार्चमा आयोजक माल्दिभ्ससँग हुनेछ। समूह ‘बी’ मा बंगलादेश, भारत र पाकिस्तान छन्। समूह चरणपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।












