काठमाडौं। ललितपुर सिटी एफसीले लगातार दोस्रोपल्ट नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा स्थान बनाउन सफल भएको छ। तर, गत संस्करण इलिमिनेटर पार गरेर फाइनलको लामो यात्रा तय गरेको ललितपुरले यसपल्ट पहिलो क्वालिफायरबाट सिधैं त्यो उपलब्धि हासिल गरे पनि कम सकसपूर्ण रहेन।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साबिक उपविजेता धनगढी एफसीसँगको भेटमा २–१ को जित निकालेको ललितपुरले रेफ्रीको खराब निर्णयकै कारण तनावपूर्ण स्थिति झेल्नुपर्यो। जे होस् कप्तान अनन्त तामाङ भन्छन्, ‘रेफ्रीलाई धन्यवाद !’
जारी लिगमा अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गरेको ललितपुरले धनगढीविरुद्ध पनि आक्रामक सुरुआत गरेको थियो। तर, १६औं मिनेटदेखि नै ललितपुर रेफ्रीको खराब निर्णयको सिकार हुँदै गयो। जुन खेल सकिएपछि पनि समाप्त भएन।
‘म उहाँलाई धन्यवाद नै दिन्छु। उहाँले यो ब्लन्डर निर्णय नगर्नु भएको भए हाम्रो विदेशी खेलाडीले यो स्तरको प्रदर्शन गर्नुहुन्न थियो होला !,’ अनन्त भन्छन्।
मणिको खुट्टामा रहेको एअर बललाई क्लियर गर्न धनगढीका डिफेन्सिभ मिडफिल्डर मोहमम्द अल जाउलीनी पुगेका थिए। उनले मणिबाट कुनै खतरा नरहेको अवस्थामा सिधै खुट्टाले छातीमा प्रहार गरे।
त्यसपश्चात् दुवै खेलाडी एक अर्कामाथि लडेका थिए। तर, मोहम्मदले ड्रामा क्रिएट गरे। मणिले लड्दा आफ्नो अनुहारमा खुट्टाले प्रहार गरेको नाटक गरेपछि मुख्य रेफ्री उमेश बिडारीले फोर्थ अफिसियल श्याम दनुवारसँग सल्लाह गरेपछि सिधै रातो कार्ड दिएका हुन्।
लड्दा मणिको खुट्टाले कतै लागेको देखिएको थिएन। तर, मोहम्मद मैदानमा लडेर ठूलो नाटक मञ्चन गरेपछि अनन्त तामाङसहित खेलाडीले गरेको अपिलमा पनि बिडारीले कुनै चासो देखाएनन्। सहायक रेफ्री किसन कन्हैयाले पनि प्रतिवाद गरेनन्।
बरु मणिलाई नै मैदान बाहिर पठाए। मणिलाई सिधै छातीमा प्रहार गर्ने मोहम्मदले भने पहेँलो कार्ड मात्रै पाए। मुख्य रेफ्री बिडारी र फोर्थ अफिसियल दनुवार फिफा ब्याच प्राप्त रेफ्री हुन्।
बिडारीले यही वर्ष फिफा रेफ्रीको ब्याच पाएका हुन्। दनुवार भने धेरै अघिदेखिका फिफा रेफ्री हुन्। मणिले जारी लिगमा एक गोल र दुई असिस्ट गरिसकेका छन्।
‘मणिले रातो कार्ड पाउँदा मुख्य रेफ्री कम्फर्म नै हुनुहुन्न थियो। उहाँले फोर्थ अफिसियललाई सोधेर दिएको भन्नुभयो। नजिकै रहेको रेफ्रीले त देख्नु भएन भने टाढा रहेको फोर्थ अफिसियलले कसरी देख्नुभयो?,’ अनन्त प्रश्न गर्छन्।
तर, ललितपुरले केर्भेन्स बेलफोर्ट र इबु केबेले गोलमा जित निकाल्न सफल भयो। धनगढीका जर्जप्रिन्स कार्कीको गोल सान्त्वना रह्यो। हारपछि धनगढीका प्रशिक्षक, खेलाडी र अफिसियल आक्रामक बनेका थिए। केहीबेर हात हालाहालको समेत स्थितिमा पुगेपछि स्थिति साम्य बनाउन प्रहरी नै परिचालन गर्नुपरेको थियो।
त्यही अवस्थामा सेन्ट्रल ब्याक पापे डिकेटले पनि रातो कार्ड पाएका हुन्। धनगढीका मुख्य प्रशिक्षक जुआन म्यानुएल साएजले आफैंले धक्का दिए पनि बिडारीले पापेलाई नै दोहोरो पहेँलो कार्ड दिए।
यस्तै, झगडा छुट्टाउन पुगेका कप्तान अनन्तलाई पनि बिडारीले पहेँलो कार्ड देखाएका थिए। कुनै कारणबिना नै पहेंलो कार्ड पाएपछि अनन्तले कप्तानी आर्म ब्यान्डलाई भुईँमा पछार्दै रिस पोखेका थिए। ‘मोर्डन फुटबलमा यस्तो घटना भइरहन्छ। तर, खेलाडीले आफ्नो इमोसन कन्ट्रोल गर्न सक्नुपर्थ्यो। रेफ्रीले पनि बोल्न नै नदिने कार्डको धम्की दिने लगायतका घटानले गलत भइरहेको छ जस्तो लाग्छ,’ उनले भने।
योसँगै फाइनलमा ललितपुरले ठूलो क्षती बेहोर्ने पक्का भइसकेको छ। फ्रिककबाट गोल गर्न सिपालु र प्लेमेकर मणिको अनुपस्थितिमा ललितपुरलाई उपाधि रक्षा गर्न गाह्रो हुने देखिन्छ। अर्कोतर्फ अनन्तलाई आफ्नो डिफेन्स पार्टनरको समस्याले पनि सताउने छ। यो घटनाक्रमसँगै ललितपुरले रेफ्रीको निर्णयविरुद्ध अपिल गर्ने बताइसकेको छ।