काठमाडौं। ललितपुर सिटी एफसीका मिडफिल्डर मणिकुमार लामा र सेन्ट्रल ब्याक पापे डिकेटले नेपाल सुपर लिग (एनएसएल)को फाइनल गुमाउने भएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न पहिलो क्वालिफायरमा साबिक उपविजेता धनगढी एफसीविरुद्ध २–१ को जित निकाल्दै ललितपुर लगातार दोस्रोपल्ट फाइनलमा प्रवेश गरेको हो। तर, मणि र पापेले रातो कार्ड पाएसँगै फाइनल खेल गुमाउने पक्का भएको हो।
मणिले १६औं मिनेटमै रातो कार्ड पाएका हुन्। मणिको खुट्टामा रहेको एअर बललाई क्लियर गर्न धनगढीका डिफेन्सिभ मिडफिल्डर मोहमम्द अल जाउलीनी पुगेका थिए। उनले मणिबाट कुनै खतरा नरहेको अवस्थामा सिधै खुट्टाले छातीमा प्रहार गरेका थिए।
त्यसपश्चात् दुवै खेलाडी एक अर्कामाथि लडेका थिए। तर, मोहम्मदले ड्रामा क्रिएट गरे। मणिले लड्दा आफ्नो अनुहारमा खुट्टाले प्रहार गरेको नाटक गरेपछि मुख्य रेफ्री उमेश बिडारीले फोर्थ अफिसियल श्याम दनुवारसँग सल्लाह गरेपछि सिधै रातो कार्ड दिएका हुन्।
लड्दा मणिको खुट्टाले कतै लागेको देखिएको थिए। तर, मोहम्मद मैदानमा लडेर ठूलो नाटक मञ्चन गरेपछि ललितपुरका कप्तान अनन्त तामाङसहित खेलाडीले गरेको अपिलमा पनि बिडारीले कुनै चासो देखाएनन्। सहायक रेफ्री किसन कन्हैयाले पनि प्रतिवाद गरेनन्।
बरु मणिलाई नै मैदान बाहिर पठाए। मणिलाई सिधै छातीमा प्रहार गर्ने मोहम्मदले भने पहेँलो कार्ड मात्रै पाए। मुख्य रेफ्री बिडारी र फोर्थ अफिसियल दनुवार फिफा ब्याच प्राप्त रेफ्री हुन्।
बिडारीले यही वर्ष फिफा रेफ्रीको ब्याच पाएका हुन्। दनुहार भने धेरै अघिदेखिका फिफा रेफ्री हुन्। मणिले जारी लिगमा एक गोल र दुई असिस्ट गरिसकेका छन्।
पापेले भने खेल सकिएपछि कार्ड पाएका हुन्। धनगढीका मुख्य प्रशिक्षक जुआन म्यानुएल साएजले आफैंले धक्का दिए पनि बिडारीले पापेलाई नै दोहोरो पहेंलो कार्ड दिएका हुन्।
यस्तै, झगडा छुट्टाउन पुगेका कप्तान अनन्त तामाङलाई पनि बिडारीले पहेंलो कार्ड देखाएका थिए। कुनै कारणबिना नै पहेंलो कार्ड पाएपछि अनन्तले कप्तानी आर्म ब्यान्डलाई भुईँमा पछार्दै रिस पोखेका थिए। यद्यपि, यो खराब निर्णयविरुद्ध ललितपुरले अपिल गर्ने बताइसकेको छ।