काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा रेफ्रीको गलत निर्णयको ललितपुर सिटी एफसीले अपिल गर्ने भएको छ ।
पहिलो क्वालिफायर खेलमा रेफ्रीको गलत निर्णयका कारण दुई रातो कार्ड ब्यहोरेको ललितपुरले निर्णयविरुद्ध अपिल गर्ने भएको हो ।
‘प्रतियोगिताको स्तर बढाउन टिमको हिसाबले हामीले धेरै मेहनत गर्यौ । तर एनएसएस खेलाउने रेफ्रीको स्तरनै भएन ।’ ललितपुर सिटीका प्रबन्ध निर्देशक आलोक जोशीले भने ।
‘रेफ्रीको गलत निर्णयका कारण हाम्रा दुई महत्वपुर्ण खेलाडीले रातो कार्ड पाएका छन् । यो गलत निर्णयको विरुद्धमा हामीले कडा अपिल गर्नेछौं ।’ जोशीले भने ।
रेफ्रीको गलत निर्णयको कारण खेलको सुरुवातबाटै दश खेलाडीमा सिमित बनेको ललितपुरले धनगढीलाई हराउँदै प्रतियोगिताको फाइनल पुगेको छ । तर पहिलो क्वालिफायर खेलमा दुई रातो कार्डका कारण फाइनल खेल अघिनै टिमलाई ठुलो झट्का लागेको छ ।
खेलको सुरुवातमा धनगढीका मोहमद अल जाउनीबाट खराब ट्याकल ब्यहोरेका ललितपुरका मणिकुमार लामाले उल्टै रातो कार्ड पाएका थिए । छातिमा कडा ट्याकल खाएका मणिलाई खेलको १६ औं मिनेटमा मुख्य रेफ्री उमेश बिडारीले मैदान बाहिरको बाटो देखिएका थिए ।
खेलको अन्तिममा समेत खेल सम्हाल्न नसकेका रेफ्री बिडारीले ललितपुरका पापे डिकेटलाई रातो कार्ड देखाएका थिए । खेल सकेर मैदान बाहिर निस्किएका बिडारीले ललितपुरका कप्तान अनन्त तामाङलाई समेत पहेलो कार्ड दिए ।
रेफ्रीबाट गरिएको गलत निर्णयको ललितपुरले विरोध गरेको छ । उसले रेफ्रीको स्तरमाथि गम्भिर प्रश्न उठाउँदै निर्णयविरुल अपिलमा जाने बताएको हो ।

रेफ्रीकै स्तर र नियतमाथि प्रश्न उठाउँदै एफसी चितवनीले यसअघि आयोजकलाई चेतावनी समेत दिएको थियो । चितवनले फ्रेन्चाईज टिमले गरेको लगानीलाई रेफ्रीको गलत निर्णयले जोखिममा पारेको भन्दै प्रतियोगिताबाट बाहिरिन सक्ने सम्मको चेतावनी दिएको थियो ।
विवाद र स्क्यान्डलले घेरिएको नेपाल सुपर लिगको रेफ्रीको निर्णयमाथि पहिलो सिजन देखिनै आलोचना र असन्तुष्टि देखिदै आएको छ । लिगको स्तर बढाउन विदेशी रेफ्री ल्याउने सम्मको बाचा आयोजकले गरेपनि मैदानमा त्यो काम हुन सकेको छैन ।