काठमाडौं। रेफ्रीको खराब निर्णयको सिकार भएको ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न पहिलो क्वालिफायरमा साबिक उपविजेता धनगढी एफसीविरुद्ध २–१ को जित निकाल्दै १० खेलाडीमा सीमित ललितपुर लगातार दोस्रोपल्ट फाइनलमा प्रवेश गरेको हो।
ललितपुरले अब दोस्रो क्वालिफायरको विजेतासँग उपाधिका लागि खेल्नेछ। धनगढीले भने फाइनमा फर्किन इलिमिनेटरको विजेतासँग खेल्नेछ। इलिमिनेटरमा पोखरा थन्डर्स र एफसी चितवन भिड्नेछन्।
ललितपुरको जितमा केर्भेन्स बेलफोर्ट र इबु केबेले गोल गरे। धनगढीका जर्जप्रिन्स कार्कीको गोल सान्त्वना रह्यो। ललितपुर खेलको १६औं मिनेटमै १० खेलाडीमा सीमित भएको थियो।
मणिकुमार लामाको खुट्टामा रहेको एअर बललाई क्लियर गर्न धनगढीका डिफेन्सिभ मिडफिल्डर मोहमम्द अल जाउलीनी पुगेका थिए। मणिबाट कुनै खतरा नरहेको अवस्थामा उनले सिधै खुट्टाले छात्तीमा प्रहार गरे।
त्यसपश्चात् दुवै खेलाडी एकअर्कामाथि लडेका थिए। तर, मोहम्मदले ड्रामा क्रिएट गरे। मणिले लड्दा आफ्नो अनुहारमा खुट्टाले प्रहार गरेको नाटक गरेपछि मुख्य रेफ्री उमेश बिडारीले फोर्थ अफिसियल श्याम दनुवारसँग सल्लाह गरेपछि सिधै रातो कार्ड दिएका हुन्।
लड्दा मणिको खुट्टाले कतै लागेको देखिएको थिए। तर, मोहम्मद मैदानमा लडेर ठूलो नाटक मञ्चन गरेपछि ललितपुरका कप्तान अनन्त तामाङसहित खेलाडीले गरेको अपिलमा पनि बिडारीले कुनै चासो देखाएनन्। सहायक रेफ्री किसन कन्हैयाले पनि प्रतिवाद गरेनन्।
बरु मणिलाई नै मैदान बाहिर पठाए। मणिलाई सिधै छात्तीमा प्रहार गर्ने मोहम्मदले भने पहेँलो कार्ड मात्रै पाए। मुख्य रेफ्री बिडारी र फोर्थ अफिसियल दनुवार फिफा ब्याच प्राप्त रेफ्री हुन्। बिडारीले यही वर्ष फिफा रेफ्रीको ब्याच पाएका हुन्। दनुहार भने धेरै अघिदेखिका फिफा रेफ्री हुन्।
योसँगै मणिले फाइनल गुमाउने छन्। यसका बाबजुद ललितपुरले ५७औं मिनेटमा सुरुआती अग्रता लियो। पापे डायकिटेलाई बिना कारण धनगढीका जर्ज कासेइडोले बक्स लाइनजिक हात र खुट्टा तानेर लडाएका थिए।
मुख्य रेफ्री बिडारीले फ्रिकिक दिएपछि धनगढीका टेक्निकल डाइरेक्टर भोलानाथ सिलवालले फोर्थ अफिसियल दनुवारप्रति असन्तुष्टि पोखेका थिए। तर, प्राप्त फ्रिककलाई हाइटीका फरवार्ड बेलफोर्टले सिधै गोल गर्दै ललितपुरलाई सुरुआती अग्रता दिलाए।
धनगढीका गोलकिपर वालिद बिरोउले फ्रान्ट पोस्टतिर मुभ चालिसकेका थिए। तर, बेलफोर्टले सेकन्डबारतिर शक्तिशाली प्रहार गर्दै सजिलै गोल गरेका हुन्। जारी लिगमा उनको यो पहिलो गोल हो।
खेलमा अग्रता लिइसकेको ललितपुरले डिफेन्समा भने सुधार गर्न सकेन। त्यसैको फाइदा उठाउँदै धनगढी ६१औं मिनेटमा खेलमा फर्कियो। सर्जियो बार्बोजाको कर्नरबाट आएको बललाई कप्तान देवेन्द्र तामाङले हेडर गर्दै ललितपुरको पोस्टसामु पुर्याएका थिए।
उक्त बललाई अनन्तले हेडर गर्दै क्लियर गरे पनि सिक्स यार्ड बक्सभन्दा पर पुगेन। जसको फाइदा जर्जप्रिन्सले उठाए। उनले दोस्रो टचमा हाफ भलिमार्फत गोल गरेका हुन्। उनी एक मिनेटअघि मात्रै दीपेश राईको स्थानमा मैदान छिरेका थिए।
तर, ७९औं मिनेटमा ललितपुरले खेलमा पुन: अग्रता लियो। फ्रान्स फरवार्ड पापाले मैदानको बीच भागमा बल प्राप्त गरेका थिए। उनले धनगढीका कप्तान देवेन्द्रसहित चार डिफेन्डको बीचबाटै फ्रि सट प्रहार गर्दै गोल गरे।
खेल सकिएलगत्तै धनगढीका कासेइडोले पनि रातो कार्ड पाए। उनले ललितपुरका खेलाडीसँग बहस गरेपछि दोस्रो पहेँलोसहित रातो पाएका हुन्। ललितपुरका पापले पनि रातो कार्ड पाएका छन्। अन्तिम समयमा भने धनगढी र ललितपुरका म्यानेजमेन्टबीच हात हालाहालको स्थिति देखिएको थियो। उनीहरूलाई साम्य बनाउन प्रहरी नै परिचालन गर्न परेको थियो