असफल मेसी

काठमाडौं। नाथन ओर्डाजले ५७औं मिनेटमा गरेको गोलकै कारण लस एन्जलस एफसीले बिहीबार इन्टर मियामीलाई १–० ले पराजित गर्दै कोन्काकाफ च्याम्पियन्स च्याम्पियन्स कप क्वार्टरफाइनलको पहिलो लेगमा अग्रता बनायो।
लिओनल मेसीले मियामीका लागि खेल्दा यसअघि खेलेका हरेक च्याम्पियन्स कप खेलमा गोल (पाँच) र असिस्ट (दुई) गरेका थिए। तर, लस एन्जलसविरुद्धको खेलमा उनी कुनै गोल वा असिस्ट गर्न सकेनन्।
चोटबाट फर्किएपछि पहिलो खेल पूरा गरेका मेसीले पाँच प्रहार गरेका थिए, जसमध्ये दुई मात्र पोस्टमा लागे। तर, लस एन्जलसका गोलरक्षक ह्युगो लोरिसले दुवै प्रहार बचाए।
लस एन्जलसका प्रशिक्षक स्टिभ चेरुन्डोलोले भने,‘मेसीले सधैं अगाडि कालो जर्सी देखिरहेका थिए, जुन हाम्रो रणनीति थियो। जोर्डी आल्बा, सर्जियो बुस्केट्स, लुइस सुआरेजजस्ता खेलाडीहरूलाई पूरै रोक्न सम्भव हुँदैन, तर सामूहिक प्रयासले हामीले उनीहरूलाई केही सीमित गर्न सकेका छौं।’
यो सन् २०२५ मा मियामीको पहिलो हार हो। प्रशिक्षक जाभियर मास्चेरानोको नेतृत्वमा क्लबले यसअघि लगातार सात खेल जित्दै ८–०–१ को शानदार सुरुआत गरेको थियो।
‘यो खेल हामीले अपेक्षा गरेजस्तै रह्यो। हामी लस एन्जलसको क्षमताबारे जानकार थियौं। उनीहरूसँग खेललाई परिवर्तन गर्न सक्ने खेलाडीहरू छन्। तर, मलाई लाग्छ हामीले उनीहरूलाई अधिकांश समय राम्रो नियन्त्रणमा राख्यौं,’ मास्चेरानोले भने।
उनले थपे,‘हाम्रो रात उत्कृष्ट रहेन, तर यो मात्र पहिलो लेग हो। अर्को साता दोस्रो लेग छ। हामी सुधार गर्न सक्छौं र सेमिफाइनलमा पुग्न सक्छौं भन्ने विश्वास छ।’
अब अप्रिल ९ मा फोर्ट लौडरडेलमा दोस्रो लेग खेलिनेछ। समग्रमा विजयी टोलीले एमएलएस क्लब भ्यानकुभर ह्वाइटक्याप्स वा मेक्सिकोको पुमासमध्ये कुनै एकसँग सेमिफाइनल खेल्नेछ।
लस एन्जलस सन् २०२० र २०२३ मा यस प्रतियोगिताको उपविजेता बनेको थियो। पछिल्ला साढे तीन हप्तामा खराब नतिजा खेप्दै आएको थियो। तर, यस खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उसले मियामीलाई हरायो।
‘हाम्रो प्रदर्शन पूरा खेलभरि राम्रो रह्यो। खेलाडीहरूले धेरै मिहिनेत गरे। तर, अझ प्रभावकारी बन्नुपर्नेछ, किनकि मियामी उत्कृष्ट टोली हो। सम्भवतः हालको सर्वश्रेष्ठ टोली नै हो,’ चेरुन्डोलोले थपे।
मेसीको प्रयास असफल
३७ वर्षीय मेसीले चोटका कारण केही खेल गुमाएका थिए। उनले अर्जेन्टिनी राष्ट्रिय टोलीका खेलहरूसमेत गुमाएका थिए। तर, गत शनिबार एमएलएस खेलमा फिलाडेल्फियाविरुद्धको जितमा उनी बेन्चबाट आउँदै गोल गरे।
लस एन्जलसमा उनले पहिलो हाफमा दुई फ्रिकिक लिएका थिए। तर, एक पोस्टमाथि गयो भने अर्को सिधैं गोलकिपर लोरिसले समाते।
८०औं मिनेटमा उनले पेनाल्टी क्षेत्रबाहिरबाट उत्कृष्ट प्रहार गरे। तर, बल क्रसबारमाथि गयो। ८६औं मिनेटमा उनले अर्को लो सट प्रहार गरे, जुन लोरिसले समाते। इन्जुरी टाइममा अन्तिम फ्रिकिक पनि उनले क्रसबारमाथि नै हाने।









-1777647615809.jpeg&w=3840&q=75)
-1777639738077.jpeg&w=3840&q=75)

