फेरि कोपा डेल रेमा ‘एल क्लासिको’

काठमाडौं। बार्सिलोनाले कोपा डेल रे फाइनलमा स्थान बनाएको छ भने एट्लेटिको मड्रिड अर्को प्रतिस्पर्धाबाट बाहिरिन बाध्य भएको छ।
बुधबार राति भएको खेलमा एट्लेटिको मड्रिडलाई १–० ले पराजित गर्दै बार्सिलोना चार सिजनपछि पहिलोपल्ट कोपा फाइनलमा प्रवेश गरेको हो। अब फाइनलमा बार्सिलोना र रियल मड्रिडबीच ‘एल क्लासिको’ प्रतिस्पर्धा हुने भएको छ।
फेरान टोरेसले पहिलो हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए। दुई टिमबीच फेब्रुअरीमा भएको पहिलो लेग ४–४ को बराबरीमा सकिएको थियो। तर, बार्सिलोना समग्रमा ५–४ को जितसहित फाइनलमा पुगेको हो।
रियलले भने मंगलबार अतिरिक्त समयमा रियल सोसिडाडलाई हराउँदै समग्रमा ५–४ को जितसहित फाइनल यात्रा तय गरेको थियो। बार्सिलोना र रियल कोपा डेल रे फाइनलमा अन्तिमपल्ट २०१३–१४ सिजनमा भिडेका थिए, जसमा रियलले उपाधि जितेको थियो।
‘यहाँ जित्नु निकै विशेष लाग्छ, फाइनलमा पुग्न सफल हुँदा झन् खुसी लागेको छ। प्रतिद्वन्द्वी टोलीसँगको फाइनल खेल्न पाउनु भनेको झनै ठूलो प्रेरणा हो,’ टोरेसले भने।
पहिलो लेगमा एट्लेटिकोले २–० को अग्रता गुमाउँदै ४–४ को बराबरी खेलेको थियो। बुधबार टोरेसले खेलको २७औं मिनेटमा लमिन यमलको उत्कृष्ट पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए।
एट्लेटिकोका स्ट्राइकर अलेक्जान्डर सोर्लोथले ६९औं मिनेटमा गोल गरेका थिए। तर, त्यो अफसाइड भएको भन्दै रद्द गरियो।
एट्लेटिकोको निराशाजनक यात्रा
एट्लेटिकोका लागि यो अर्को निराशाजनक हार रह्यो। गत महिना च्याम्पियन्स लिगको अन्तिम १६ मा रियलसँग पेनाल्टी सुटआउटमा पराजित भएको एट्लेटिको आफ्नै घरेलु मैदानमा फेरि अर्को हार बेहोर्न बाध्य भयो।
डिफेन्डर जोसे मारिया गिमेनेजले भन्छन्,‘हामी हाम्रा समर्थकहरू जस्तै दुखी छौं। अब हामीले टाउको उठाएर अघि बढ्नुपर्छ र सिजन राम्रोसँग समाप्त गर्नुपर्छ।’
कोपा डेल रे नै एट्लेटिकोका लागि यो सिजन उपाधि जित्ने सबैभन्दा ठूलो अवसर थियो। ला लिगामा एट्लेटिको २९ खेलपछि शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा नौ अंकले पछाडि छ।
‘हाम्रो टोलीले च्याम्पियन्स लिग, कोपा डेल रे र ला लिगामा निकै राम्रो प्रतिस्पर्धा गर्यो। हामीले राम्रो सिजन खेलिरहेका छौं र खेल बाई खेल मानसिकतासहित अघि बढ्नेछौं,’ प्रशिक्षक डिएगो सिमिओनेले भन्छन्।
बार्सिलोना र मड्रिडको भिडन्त
बार्सिलोना कोपा डेल रे इतिहासकै सबैभन्दा सफल क्लब हुन्, जसले ३१ पटक उपाधि जितिसकेका छन्। यी दुई क्लब सन् २०२१ पछि पहिलो पटक फाइनलमा पुगेका हुन्। त्यसबेला बार्सिलोनाले एथलेटिक बिल्बाओलाई हराएको थियो।
रियल भने पछिल्लो तीन सिजनमा दोस्रोपल्ट फाइनलमा पुगेको हो। रियलले सन् २०२३ मा ओसासुनालाई पराजित गर्दै २०औं कोपा उपाधि जितेको थियो।
कोपा डेल रे फाइनल अप्रिल २६ मा सेभियामा हुनेछ। यो सिजनको तेस्रो ‘एल क्लासिको’ हुनेछ। बार्सिलोनाले अक्टोबरमा ला लिगामा ४–० को जित निकालेको थियो भने जनवरीमा स्पेनिस सुपर कप फाइनलमा ५–२ को जित हासिल गरेको थियो। यी दुई टोली च्याम्पियन्स लिगमा पनि आमनेसामने हुन सक्ने सम्भावना छ।










-1765539955299.jpeg&w=3840&q=75)

