सिटीको कम्तीमा एउटा उपाधि जित्ने सम्भावना कायम

काठमाडौं। इङ्ग्लिस प्रिमियर लिगको उपाधि होड र च्याम्पियन्स लिगको प्लेअफबाटै बाहिरिसकेको म्यानचेस्टर सिटीले यस सिजन कम्तीमा एउटा उपाधि जित्ने सम्भावना कायम राखेको छ।
आइतबार एफए कप क्वार्टरफाइनलमा बोर्नमाउथलाई २–१ ले पराजित सिटी सेमिफाइनलमा प्रवेश गरेको हो। एर्लिङ हालान्डले खेलको ४९औं मिनेटमा बराबरी गोल गर्दै सिटीलाई फर्काए।
तर, ६१औं मिनेटमा बायाँ खुट्टाको चोटका कारण मैदानबाट बाहिरिए। उनले केहीबेर खेल्न प्रयास गरे पनि चोट गम्भीर देखिएपछि मैदान छोड्न बाध्य भए।
हालान्डको स्थानमा मैदान प्रवेश गरेका ओमर मारमौशले मात्र दुई मिनेटमै विजयी गोल गर्दै सिटीलाई लगातार सातौं पटक एफए कप सेमिफाइनलमा पुर्याए।
च्याम्पियन्स लिगबाट बाहिरिसकेको र इङ्ग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलभन्दा २२ अंकले पछाडि रहेको सिटीलाई यो सिजन एफए कप जित्दै आत्मसम्मान जोगाउने अवसर छ। सिटीले एफए कप आठौं पटक जित्ने सम्भावना कायम राखेको छ, जसमा पेप ग्वार्डियोलाको नेतृत्वमा तेस्रो उपाधि जित्ने लक्ष्य छ।
सेमिफाइनलमा सिटीले नटिङ्घम फरेस्टसँग खेल्नेछ भने एस्टन भिल्लाले क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्नेछ।









-1777647615809.jpeg&w=3840&q=75)
-1777639738077.jpeg&w=3840&q=75)

