काठमाडौं। लिरोय सानेले दुई गोल गरे भने ह्यारी केनले आफ्नो बुन्डेसलिगा सर्वाधिक गोल संख्या थप्दै बायर्न म्युनिखलाई शनिबार सेन्ट पाउलीविरुद्ध ३–२ को जित दिलाए।
खेलको सुरुआतमा पाहुना टोली सेन्ट पाउलीले उत्कृष्ट प्रदर्शन गर्यो। कप्तान ज्याक्सन इरभिनको हेडर क्रसबारमा लाग्दै बाहिरियो। तर, बायर्नले १७औं मिनेटमा माइकल ओलिसेको क्रसमा ह्यारी केनले गोल गर्दै अग्रता लिए। यो बुन्डेसलिगामा उनको २२औं गोल हो।
सेन्ट पाउलीका इलियास सादले २७औं मिनेटमा मानोलिस सालियाकसको पासमा गोल गर्दै बराबरी गरे। तर, ५३औं मिनेटमा सानेले ओलिसेको पासमा बायर्नलाई पुन: अग्रता दिलाए। उनले अर्को गोल गर्दै बायर्नको जित सुनिश्चित गरे।
अतिरिक्त समयमा लार्स रिट्ज्काले सेन्ट पाउलीका लागि गोल फर्काए। तर, जितका लागि पर्याप्त भएन। बायर्नका हिरोकी इटो घाइते भएसँगै डिफेन्स थप कमजोर भएको छ। यसअघि नै अल्फोन्सो डेभिस र दायोट उपामेकानो घाइते छन्।
‘हामीले जित्न योग्य खेल्यौं। तर, अन्त्यमा अनावश्यक तनाव सिर्जना भयो,’ बायर्नका खेल निर्देशक क्रिस्टोफ फ्रुएन्डले भने।
यो जितपछि बायर्नले बुन्डेसलिगामा ६ अंकको अग्रता कायम गरेको छ। बायर्नले २७ खेलबाट ६५ अंक पुर्याउँदा बायर लेभरकुजेनको ५९ अंक छ।