काठमाडौं। गोन्जालो गार्सियाले इन्जुरी समय निर्णायक हेडर गोलपछि रियल मड्रिड बुधबार लेगानेसविरुद्ध ३–२ को जित हात पार्दै कोपा डेल रे सेमिफाइनलमा प्रवेश गरेको छ।
पहिलो हाफमा लुका मोड्रिक र एन्ड्रिकले रियललाई दुई गोलको अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा पाहुना टोली लेगानेस खेलमा फर्कियो। यद्यपि, २० वर्षीय स्ट्राइकर गार्सियाले तीन मिनेटको इन्जुरी समयमा ब्राहिम डियाजको उत्कृष्ट क्रसमा हेडर गर्दै विजय सुनिश्चित गरे।
गार्सियाले भने,‘म अत्यन्त उत्साहित र भावनाले भरिपूर्ण छु। बाल्यकालदेखि र युवा टोलीमा खेलेदेखि यो मेरो सपना थियो। सेमिफाइनलमा जाने गोल गरेकोमा म खुसी छु। ब्राहिमको क्रस एकदमै परिपूर्ण थियो र बल आफैंभित्र गयो।’
पछिल्लो साता रियलले स्पेनिस लिगमा स्पानिओलविरुद्ध १–० हार भोगेपछि यो जित अत्यावश्यक थियो। गत महिना कोपा १६औं राउन्डमा सेल्टा भिगोलाई होममै हराउन अतिरिक्त समय लागेको थियो।
रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले भने,‘हामीले संघर्ष गर्यौं। तर, अब हामी कोपा डेल रेको सेमिफाइनलमा पुगिसकेका छौं। परिणामबाट सन्तुष्ट हुनुपर्छ।’