पथरी। चर्च ब्वाइज युनाइटेड बिहीबार १२औं संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ।
चर्चले फाइनल प्रवेशका लागि जेठ ३ गते मोरङको एलएक्स सिटी फुटबल क्लबसँग भिड्ने छ। रारा फुटबल क्लब राजारानीको आयोजनामा भइरहेको प्रतियोगितामा सर्लाहीको बागमती युथ क्लबलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै चर्च सेमिफाइनलमा पुगेको हो।
बिहीबार सम्पन्न खेलमा दुवै टिमबाट कुनै गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइबेकरमा चर्चका अमन लामा, चन्दन दास र आकाश राईले गोल गरे। बागमतीका आयुष रानामगरले गोल गरे भने अनिल मगर र छिरिङ लामाको प्रहार चर्चका गोलकिपर विवश चौधरीले बचाए। हेमन्त भुजेलको प्रहार
बाहिरिएको थियो। खेलको म्यान अफ द म्याच चर्चका गोलकिपर विवश चौधरी घोषित भए।