रोनाल्डोको पेनाल्टी गोल

काठमाडौं। क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै अल–नासरलाई एएफसी च्याम्पियन्स लिग एलिटमा संयुक्त अरब इमिरेट्सको अल–वासलविरुद्ध ४–० को सहज जित दिलाएका छन्।
बुधबार आफ्नो ४०औं जन्मदिन मनाउन लागेका पोर्चुगली सुपरस्टारले यो सिजन क्लबका लागि आफ्नो २३औं गोल गरेका हुन्। समूह चरणको यो अन्तिम खेलभन्दा अगाडि नै अल–नासरले राउण्ड अफ १६ मा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो। प्रिमियर लिगको एस्टन भिल्लाबाट शुक्रबार मात्रै साइन गरिएका नयाँ खेलाडी जोन डुरानले यही खेलमार्फत अल–नासरमा डेब्यु गरेका छन्।
मिडफिल्डर अली अल–हसनले २५औं मिनेटमा गोल गर्दै अल–नासरलाई सुरुआती अग्रता दिलाए। पहिलो हाफको अन्त्यतिर रोनाल्डोले पेनाल्टीबाट गोल गरे। खेलको अन्तिम १२ मिनेट बाँकी छँदा उनले हेडरमार्फत दोस्रो गोल थपे। मोहम्मद अल–फातिलले चौथो गोल गर्दै टोलीको सानदार जित सुनिश्चित गरे।
अल–नासरले १२ टोली सहभागी समूहमा तेस्रो स्थान सुरक्षित गरेको छ भने साउदी अरबकै अर्को टोली अल–अहली कतारको अल–सद्दलाई ३–१ ले हराउँदै शीर्ष स्थानमा पुगेको छ। अल–नासरको सात खेलबाट १६ अंक छ। समान खेल खेलेको अल–अहलीको भने तीन अंक बढी छ।