काठमाडौं। नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीसम्मिलित गल्फ जायन्ट्स इन्टरनेसनल लिग टी–२० को पहिलो खेलमै पराजित भएको छ।
अन्तिम बलसम्म पुगेको खेलमा शारजाह वारियर्सले गल्फलाई तीन विकेटले पराजित गरेको हो। दीपेन्द्र भने पहिलो खेलमा प्लेइङ ११ मा अटाउन सकेका थिएनन्।
टम कोहलर–क्याडमोरको सानदार ब्याटिङसँगै गल्फले दिएको १७५ रनको लक्ष्य शारजाहले अन्तिम बलमा सात विकेट गुमाउँदै पूरा गर्यो। जितसँगै वारियर्सले महत्त्वपूर्ण दुई अंक जोडेको छ।
ओपनर क्याडमोरले अविजित रहँदै ८३ रन बनाए। ५६ बल खेलेका उनले ६ चौका र चार छक्का प्रहार गरे। रोहन मुस्ताफाले ३३ बलमा तीन चौका र दुई छक्कासहित ४५ रन बनाए। जोन्सन चार्ल्स १२ र किमो पल ११ रनमा आउट हुँदा आदिल रशिद ९ रनमा अविजित रहे।
गल्फका मार्क एडेयर र ब्लेसिङ मुजरबानीले समान दुई विकेट लिए। त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गल्फले टस २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो।
रिहान अहमदले सर्वाधिक ४६ रन बनाए। २७ बल खेलेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे। शिमरोन हेटमायरले २३ बलमा ३६ रनको योगदान दिए। वारियर्सका कप्तान टिम साउदीले चार ओभरमा ३० रन खर्चेर तीन विकेट लिए।