दृष्टिविहीन विश्वकपको सेमिफाइनलबाटै बाहिरियो नेेपाल
आइतबार, मंसिर १६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपालले दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ। पाकिस्तानको लाहोरमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा घरेलु टोलीसँग १० विकेटले पराजित भएसँगै नेपाल बाहिरिएको हो।
नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ५.३ ओभरमा कुनै विकेट नगुमाई ९८ रन बनायो।
पाकिस्तानका ओपनर कमरान अख्तरले सर्वाधिक ६३ रन बनाए। २१ बल खेलेका उनले १२ चौका र एक छक्का प्रहार गरे। बाबर अलिले ३२ रनको योगदान दिए।
त्यसअघि नेपालले दुर्गादत्त पौडेलको ४० रनको योगदानमा निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९४ रन बनाएको थियो।
४२ बल खेलेका उनले कुनै बल बाउन्ड्री बाहिर पुर्याउन सकेनन्। १७ रन जोडेका रमेश बानिया अविजित रहे। तर, अन्यको ब्याट चल्न नसक्दा नेपालले ठूलो स्कोर बनाउन सकेन र यात्रा यहीसम्म कायम राख्यो।
















