काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्सलाई ८ विकेटले पराजित गरेको छ।
विराटनगर १९ ओभरमा अलआउट हुँदा १२७ रनमा समेटिएको थियो। जसमा पहिलो पटक नेपाल आएका न्युजिल्यान्डका पूर्व ओपनर मार्टिन गप्टिलले ५५ रनको अर्धशतकीय इनिङ खेले। खेलपछि उनले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको नयाँ पिचमा ब्याटिङ गर्न सहज नभएको बताए।
‘ब्याटमा बल कनेक्ट नहुँदा सुरुमा मलाई खेल्न गाह्रो भयो। निकै कठिन विकेट थियो। पहिलो ब्याटिङ गर्न सहज थिएन। बल सिधा आइरहेको थिएन,’ उनले भने।
विराटनगरले सुरुआत भने राम्रो गर्न सकेन। किशोर महतलाई दोस्रो बलमै चौका प्रहार गर्दै आक्रामक सुरुआत गरेका लोकेश बम ६ रनभन्दा अगाडि बढ्न सकेनन्। उनलाई दोस्रो ओभरको पहिलो बलमै ललितनारायण राजवंशीले बोल्ड गरे। त्यसपछि ओमानी ब्याटर अकिब इलियासले ओपनर गप्टिलसँग ४७ रनको साझेदारी गर्दै विराटनगरको इनिङ्सलाई उकास्ने प्रयास गरेका थिए।
तर, नवौं ओभरको दोस्रो बलमा उनी मोहम्मद मोहसिनबाट एलबिडब्यु आउट भए। आउट हुनुपूर्व उनले १८ बलमा एक चौकासहित १५ रन प्रहार गरे। उनी आउट भएसँगै विराटनगरले पुनस् ब्याटिङमा संघर्ष गर्न थाल्यो। क्यानडाका कप्तान निकोलस किर्टन नौ रनमा बोल्ड भए। तर, गप्टिलले इनिङ्स सम्हाल्दै ३६ बलमा अर्धशतक पूरा गरेपछि विराटनगरले बलियो स्थितिमा पुग्ने संकेत गरेका थिए।
तर, एनपिएलको पहिलो अर्धशतक प्रहार गरेका उनी १४औं ओभरको अन्तिम बलमा लङ अनमा तैनाथ कप्तान अनिलकुमार साहबाट ५५ रनमा क्याच आउट भए। त्यसपछि पुनः विराटनगरले ब्याटिङमा संघर्ष गर्न थाल्यो। बसिर अहमद सात, राजेश पुलामी एक र प्रतीश जिसी दुई रनमा पेभिलियन फर्किएसँगै जनकपुर खेलमा पुनरागमन गर्न सफल भयो।
टिमले कम रन जोड्दा हार बेहोर्न परेको उनले बताए। ‘हामीले यति थोरै रन बनाउँछौं भनेर आश गरेको थिएनौं। तर, क्रिकेटमा कहिलेकाँही यस्तै हुन्छ। हामी पूरै टिमले पहिलो खेलबाट सिक्नुपर्छ। यसमा काम गरेर अर्को खेलमा हामी फर्कनेछौं,’ उनले भने।