दीपेन्द्रलाई उछिन्दै हार्दिक बने नम्बर १ अलराउन्डर

काठमाडौं। भारतीय क्रिकेट टोलीका स्टार हार्दिक पाण्ड्याले दक्षिण अफ्रिकाविरुद्धको हालैको शृंखलामा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा आईसीसी टी–२० आई अलराउन्डर वरीयतामा फेरि एक पटक नम्बर १ स्थानमा उक्लिएका छन्। युवा ब्याट्सम्यान तिलक वर्मा र सञ्जु सामसनले पनि ब्याटिङ वरीयतामा ठूलो फड्को मारेका छन्।
पाण्ड्याले अलराउन्डरको वरीयतामा पहिलो स्थान हासिल गरेको यो दोस्रो पटक हो। यसअघि उनले आईसीसी टी–२० विश्वकपमा भारत च्याम्पियन हुँदा यो उपलब्धि हासिल गरेका थिए। दक्षिण अफ्रिकाविरुद्धको शृङ्खलामा उनले दोस्रो टी–२० मा कठिन परिस्थितिमा ३९ रनको इनिङ्स खेलेका थिए। यसपछि उनले बलिङमा पनि राम्रो प्रदर्शन गरे।
चौथो टी–२० मा उनले आफ्नो तीन ओभरमा मात्र आठ रन दिएर एक विकेट लिए। उनले यो स्थान हासिल गर्न नेपालका दीपेन्द्रसिंह ऐरी र इङ्ल्यान्डका लियाम लिभिङ्स्टनलाई पछि पारेका छन्।
दीपेन्द्र दोस्रो स्थानमा यथावत छन्। लियाम भने दुई स्थान तल खस्किएका हुन्। पाण्ड्याबाहेक तिलक र सञ्जुको वरीयतामा उल्लेख्य सुधार भएको छ। तिलकले दक्षिण अफ्रिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै दुई शतकसहित कुल २८० रन बनाउँदै प्लेयर अफ द सिरिजको उपाधि जितेका थिए।
उनले यस शृंखलाका पहिलो दुई खेलमा चौथो स्थानमा ब्याटिङ गरेका थिए जसमा उनले ३३ र २० रन बनाए। तर, कप्तान सूर्यकुमार यादवले उनलाई ब्याटिङ पोजिसनमा मौका दिनेबित्तिकै तिलकले लगातार दुई शतक बनाए।
यो प्रदर्शनले उनी टी–२० ब्याटिङ वरीयतामा ६९ स्थान माथि उक्लिएर तेस्रोमा पुगेका छन्। तिलक अहिले भारतका शीर्ष ब्याट्सम्यान बनेका छन्। कप्तान सूर्यकुमार एक स्थान झरेर चौथो स्थानमा पुगेका छन्। सञ्जुले पनि दक्षिण अफ्रिकाविरुद्ध दुई खेलमा शतक र दुई खेलमा शून्य रन प्रहार गरेका थिए। १७ स्थान सुधार गरेका उनी टी–२० ब्याटिङ वरीयतामा २२औं स्थानमा छन्।
भारतका तीव्र गतिका बलर अर्शदीप सिंहले पनि वरीयतामा तीन स्थान सुधार गर्दै करियरको उत्कृष्ट नवौं स्थानमा पुगेका छन्। अर्शदीपले दक्षिण अफ्रिकाविरुद्धको शृंखलामा उत्कृष्ट बलिङ गर्दै चार खेलमा आठ विकेट लिएका थिए।
यसबाहेक दक्षिण अफ्रिकी ब्याट्सम्यान ट्रिस्टन स्टब्स (२३औं स्थानमा) र हेनरिक क्लासेन (५९औं स्थानमा) ले पनि आफ्नो वरीयतामा सुधार गरेका छन्। श्रीलंकाका कुसल मेन्डिस (१२औं) र वेस्ट इन्डिजका शाई होप (२१औं) को पनि आफ्नो वरीयतामा सुधार भएको छ।





-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)




-1776687524253.jpeg&w=3840&q=75)
