काठमाडौं। अमेरिकाले ओलम्पिकअन्तर्गत एथ्लेटिक्सको एक सय मिटर दौडमा दुई दशकपछि स्वर्ण पदक जितेको छ।
स्प्रिन्टर नोह लाइल्सले पेरिस ओलम्पिकमा फोटो फिनिसमार्फत उक्त कीर्तिमान रचे। उनले निर्धारित दूरी ९.७८४ सेकेन्डमा पार गरे।
सन् २००४ को एथेन्स ओलम्पिकमा जस्टिन ग्याटलिनले सबैभन्दा छोटो दूरीको दौडमा स्वर्ण जितेका थिए। त्यसयता यो विधामा स्वर्ण जित्ने २७ वर्षीया लाइल्स पहिलो अमेरिकी खेलाडी हुन्।
फिनिस लाइनमा उनले जमैकाका किशन थम्पसनलाई मात्र .००५ सेकेन्डले पछि पारे। लाइल्सको यो करिअरकै उत्कृष्ट प्रदर्शन हो। थम्पसनले निर्धारित दूरी पार गर्न ९.७९ सेकेन्ड लगाए। उनको यो पहिलो ओलम्पिक पदक हो।
फ्रेड केर्लेले कास्य पदक जित्दा अमेरिकाका दुई धावकले पोडियममा उभ्भिने मौका प्राप्त गरे। फ्रेडले ९.८१ सेकेन्ड समय निकाल्दै कास्य पदक पक्का गरेका हुन्।