काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेट लिगमा तेस्रो हार व्यहोरेको छ ।
सिलेटमा मंगलबार भएको खेलमा सन्दीपको टिम सिक्सर्स कोमीला भिक्टोरियन्ससंग ८ विकेटले पराजित भएको हो ।
सिक्सर्सले दिएको ६९ रनको सामान्य लक्ष्य भिक्टोरियन्सले ११ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । भिक्टोरियन्सका लागि सम्सुर रहमानले अविजित ३४ तथा इम्रुल केईसले अविजित ३० रन जोडे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिक्सर्स १४ ओभर ५ बलमा अलआउट हुँदै ६८ रनमा समेटियो । सिक्सर्सका आलोक कपालीले अविजित ३३ रन जोडे । भिक्टोरियन्सका मेहदी हसनले ४ विकेट लिए ।
भिक्टोरियन्सविरुद्धको खेलमा सन्दीप भने टिममा थिएनन् । डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि त्यसपछिका दुई खेलमा महंगा साबित भएपछि सन्दीप टोलीमा नपरेका हुन् ।
यो हारसंगै सन्दीपको टिम सिक्सर्स २ अंक जोडेर छैटौं स्थानमा छ । भिक्टोरियन्स ६ अंक जोडेर तेस्रो स्थानमा छ ।