काठमाडौं। नामिबियाका जेन-निकोल लोफ्टी ईटनको टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो ( ३३ बलमा) शतक बनाउने कीर्तिमान चार महिनाभन्दा कम समयमै तोडिएको छ।
इस्टोनियाका ब्याट्सम्यान साहिल चौहानले साइप्रसविरुद्धको टी–२० खेलमा २७ बलमा शतक प्रहार गरेका छन्। यो टी–२० क्रिकेटको सबै फर्म्याटमा सबैभन्दा छिटो शतक बनाएको छ।
यसअघि क्रिस गेलले आईपीएल २०१३ मा ३० बलमा शतक बनाएका थिए। चौहानले आफ्नो इनिङ्समा कुल १८ छक्का प्रहार गरे र पुरुषको टी-२० अन्तर्राष्ट्रिय इनिङ्समा सबैभन्दा बढी छक्का प्रहार गर्ने कीर्तिमान पनि बनाए। ६ खेलको द्विपक्षीय शृङ्खलाको पहिलो दिन दुई खेल खेलिएको थियो जसमा दुवै खेलमा चौहानको ब्याटिङ एकदमै फरक थियो। पहिलो खेलमा उनी पहिलो बलमै आउट भएपनि उनको टोलीले अन्तिम ओभरमा १९५ रनको लक्ष्य पूरा गरेको थियो।
पहिलो खेल सकिएको केही समयपछि दोस्रो खेल सुरु भएको थियो। त्यसमा चौहानको अर्कै रुप देखियो। पहिले ब्याटिङ गरेको साइप्रसले यस पटक पनि १९१/७ रन बनाएको थियो। ९ रनको स्कोरमा इस्टोनियाले आफ्ना दुवै ओपनरको विकेट गुमाएको थियो। तर, चौहानले पहिलो तीन वैध बलमा ६, ४ र ६ रन बनाएका थिए। सातौं ओभरमा उनको टोलीको स्कोर ६०/४ थियो। चौहानले मंगला गुणसेखरको ओभरमा चार छक्का र एक चौका प्रहार गर्दै १४ बलमा आफ्नो अर्धशतक पूरा गरे।
आठौं ओभरमा उनले चमल सदुनविरुद्ध चार छक्का र अर्को ओभरमा नीरज तिवारीविरुद्ध तीन छक्का प्रहार गरे। चौहानले १३ औं ओभरको अन्तिम बलमा आफ्नो टोलीलाई जित दिलाए। उनले ३५१.२१ को स्ट्राइक रेटमा आफ्नो रन बनाए।