काठमाडौं। राहुल द्रविडपछि भारतीय टोलीको प्रशिक्षकको जिम्मेवारी गौतम गम्भीरले सम्हाल्ने सम्भावना छ। उनी अहिले प्रशिक्षक बन्ने दौडमा सबैभन्दा अगाडि छन्। उनले पदका लागि औपचारिक रूपमा आवेदन दिएका छन् र मंगलबारको अन्तर्वार्तामा पनि सहभागी भएका छन्।
गम्भीरले आईपीएलमा अन्तिम निर्णय लिन समय मागेका थिए। तर जुन १ मा अबुधाबीमा भएको एक कार्यक्रममा बोल्दै उनले भारतको प्रशिक्षक बन्ने इच्छा व्यक्त गरेका थिए।
भिभीएस लक्ष्मणले गत वर्ष बीसीसीआईलाई मुख्य प्रशिक्षकको पदमा रुचि नभएको बताएका थिए। लक्ष्मण हाल बैंगलोरको राष्ट्रिय क्रिकेट एकेडेमीका निर्देशक छन्। लक्ष्मणको यो निर्णयपछि गम्भीर प्रशिक्षक बन्ने दौडमा अग्रपंक्तिमा परेका छन्।
बीसीसीआईले नयाँ मुख्य प्रशिक्षकलाई जुलाई २०२४ देखि डिसेम्बर २०२७ सम्म साढे तीन वर्षका लागि नियुक्त गर्ने र उनले तीनवटै ढाँचामा टोलीको जिम्मेवारी सम्हाल्ने बताएको थियो।