काठमाडौं। डेभिड विजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन्।
आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत वर्षाले प्रभावित पारेको समूह चरणको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डसँग नामिबिया डकवर्थ लेविस पद्धति (डीएलएस) ४१ रनले पराजित भएसँगै उनले सन्न्यासको घोषणा गरेका हुन्।
नर्थ साउन्डमा वर्षाले प्रभावित खेलमा नामिबियाको अन्तिम ओभर सकिएपछि जोफ्रा आर्चर र इंग्ल्यान्डका अन्य खेलाडी विजसँग हात मिलाउन गएका थिए। त्यसपछि उनले हेल्मेट र ब्याट उठाउँदै आफ्ना समर्थकमाझबाट विदा लिए ।
‘अर्को टी–२० विश्वकप दुई वर्षपछि हुने छ र म ३९ वर्षको भएँ। जहाँसम्म अन्तर्राष्ट्रिय क्रिकेटको सवाल छ, मलाई यो स्तरमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सक्छु भन्ने लाग्दैन, उनले भने।
उनले सामान्यतया मिडल अर्डरमा ब्याटिङ गर्छ। तर, इंग्ल्यान्डविरुद्धको खेलमा ठूलो लक्ष्यलाई ध्यानमा राख्दै उनलाई तेस्रो नम्बरमा ब्याटिङ गर्न पठाइएको थियो।
उनले नामिबियाका लागि २०२१ को विश्वकपमा डेब्यू गरेका थिए। उनले नामिबियालाई सुपर १२ मा पुर्याउन महत्त्वपूर्ण भूमिका खेले। नामिबियाका लागि यो उनको लगातार तेस्रो विश्वकप हो। ओमानविरुद्धको एकमात्र जितमा उनले २८ रन बनाउँदै तीन विकेट लिएका थिए ।
नामिबियाका लागि ३४ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले ५३२ रन बनाएका छन् भने ३५ विकेट पनि लिएका छन्। उनले नामिबियाका लागि ६ ओडिआई खेल पनि खेलेका थिए। जसमा उनले २२८ रन बनाएका छन् र ६ विकेट लिएका छन्। विसाले कुल ५४ ट्वान्टी–२० अन्तर्राष्ट्रिय र १५ ओडिआई खेलेका छन् ।
उनी फ्रान्चाइज क्रिकेट भने खेल्ने छन्।