काठमाडौँ। बलात्कारको अभियोगमा उच्च अदालतबाट सफाइ पाएर पनि लेग स्पिनर सन्दीप लामिछानेले हालसम्म अमेरिकाको भिसा (प्रवेशाज्ञा) पाएका छैनन्। त्यसैले आईसीसी टी–२० विश्वकप २०२४ मा सन्दीपको सहभागिता अनिश्चित भएको छ, सम्भावना फितलो बन्दै गएको छ।
सन्दीपले सफाइ पाएपछि अमेरिकी दूतावासले भिसा नदिएको, नेपाल क्रिकेट संघ (क्यान)ले भिसा दिलाउन कोसिस गरेको र नेपाली टिममा सन्दीप हुँदा/नहुँदाको अवस्थालाई लिएर सामाजिक सञ्जालमा खुबै चहलपहल छ।
विश्वकप २०२४ खेल्ने नेपाली टिममा आईपीएल (भारत), बिग बास (अस्ट्रेलिया), पाकिस्तानी सुपर लिग (पीएसएल) का अनुभवी बलर सन्दीपको उपस्थिति कति जरुरी छ ?
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा एक दशकअघि नेपालले विश्वकपमा डेब्यू गर्दाका मुख्य खेलाडी ज्ञानेन्द्र मल्लले सन्दीपको उपस्थितिबारे सोमबार खेलपाटीसँग भने, ‘भिसाको अन्य प्रक्रिया कूटनीतिक तहमै होला। तर, पनि उनी वर्ल्डक्लास बलरको हिसाबले टिममा कुनै पनि वर्ल्डक्लास बलर थपिनु टिमको लागि एकदमै राम्रो कुरा हो।’
सन्दीपसँगै खेलिसकेका मल्लले थपे, ‘तर, हामी सधैँ व्यक्ति विशेष केन्द्रित हुनुपर्छ जस्तो लाग्दैन। टिममा राम्रो गर्नलाई योग्य (खेलाडी) छन्। यदि सन्दीप भयो भनेदेखि सुनमा सुगन्ध हुन्छ भन्ने कुरा हो।’ १७ वर्ष लामो अन्तर्राष्ट्रिय खेलाडीको करिअरलाई गत वर्ष पूर्णविराम लगाएका मल्ल अहिले नेपाल ‘ए’ टिमका मुख्य प्रशिक्षक छन्।