काठमाडौँ। तीव्रगतिका बलर कमलसिंह ऐरीलाई समेट्दै नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपका लागि टोली घोषणा गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोली घोषणा गरेको हो। कमलले दुई वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन्।
उनले अन्तिम पटक अप्रिल २०२१ मा घरेलु मैदानमा भएको नेपाल, नेदरल्यान्ड्स र मलेसियासम्मिलित त्रिदेशीय टी–२० आई शृंखला खेलेका थिए।
मलेसियाविरुद्धको खेलमा टी–२० आईमा डेब्यू गरेका थिए। उनले सोही शृंखलामा मलेसियासँग दोस्रो खेल खेलेसँगै चोटका कारण टोलीमा स्थान बनाउन सकेका थिएनन्।
उनले हालसम्म नेपाली टोलीबाट १० खेल खेलेका छन्। १४.८० को औसत र ६.४९ को इकोनोमीमा बलिङ गरेका उनले २२२ रन खर्चिएर १५ विकेट लिएका छन्।
वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमार्फत सिनिअर टोलीमा पुनरागमन गरेका हुन्। तर, उनको पुनरागमन सफल हुन सकेको छैन। २ इनिङ्समा ७ ओभर बलिङ गरेका उनले १०६ औसत र १५.१४ को इकोनोमीमा १०६ रन खर्चिएर १ विकेट मात्रै लिन सकेका छन्।
विश्वकप खेल्ने टोलीमा खराब लयबाट गुज्रिरहेका विकेटकिपर ब्याट्सम्यान अनिलकुमार साहले पनि स्थान बनाएका छन्। सन् २०१८ मा नेदरल्यान्डविरुद्ध खेल्दै उनले टी–२० आईमा डेब्यू गरेका थिए। उक्त खेलमा उनले ब्याटिङ भने गर्ने पाएनन्।
उनले अन्तिम पटक कीर्तिपुरमै भएको नेपाल, नेदरल्यान्ड्स र नामिबियासम्मितलित त्रिदेशीय शृंखला खेलेका थिए। नामिबियाविरुद्धको एक खेलमा मात्रै मौका पाएका उनले ओपनिङमा उत्रिएर १७ बलमा ३ छक्कासहित २३ रन बनाएका थिए।
उनको यो नै उच्च स्कोर हो। पटक पटक मौका पाउँदा पनि उनले आफूलाई प्रमाणित गर्न नसकेका उनी वेस्ट इन्डिज ‘ए’ विरुद्धको शृंखलामा पनि लयमा फर्किन सकेनन्।
३ इनिङ्स खेलका उनले ६.६६ को औसत र ८३.३३ को स्ट्राइक रेटमा २० रनमात्रै बनाएका छन्। पहिलो खेलमा ९ बलमा ५ रन बनाएका उनी म्याथ्यू फोर्डेको बलमा कादिम एलीनबाट क्याच आउट भएका थिए।
दोस्रो खेलमा भने उनले ५ बलमा १ रन मात्रै बनाउन सके। ओशान थोमसको बललाई प्रहार गर्नेक्रममा उनी विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट भए।
तेस्रो खेलमा १० बल खेलेकका अनिल २ छक्का प्रहार गर्दै १४ रन बनाएर पेभिलियन फर्किएका थिए। गुडाकेश मोटीको बलमा उनी कप्तान रोस्टन चेजबाट क्याच आउट भएका हुन्।
अनिल झैँ खराब लयमा रहेका अलराउन्डर विवेककुमार यादव भने टोलीमा अटाउन सकेनन्। सन् २०२२ मा ओमानविरुद्धको खेलमा उनले टी–२० आईमा डेब्यू गरेका थिए। त्यसयता १९ इनिङ्स खेलेका उनले १०.११ को औसत र ११२.३४ को स्ट्राइक रेटमा ९१ रन बनाएका थिए। उनले ८ इनिङ्समा ८९ को औसत र ९.७० को इकोनोमीमा ८९ रन खर्चिएर १ विकेट लिएका थिए।
खराब लयका बाबजुद उनलाई नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले वेस्ट इन्डिजविरुद्धको शृंखलामा मौका दिइरहेका थिए। तर, २ इनिङ्स खेलेका उनले १० रनभन्दा बढी बनाउन सकेनन्।
अनिलले भन्दा राम्रो प्रदर्शन गरिरहेका विकेटकिपर ब्याट्सम्यान लोकेशकुमार बमले पनि टोलीमा स्थान बनाउन सकेनन्। उनले ११ खेल खेलेका छन्। १२.२८ को औसत र १२२.८५ को स्ट्राइक रेटमा उनले ८६ रन बनाएका छन्।
वेस्ट इन्डिजविरुद्धको खेलमा पनि उनले अनिलले भन्दा राम्रो प्रदर्शन गरिरहेका छन्। २ इनिङ्स खेलेका उनले २२.५० को औसत र १०० को स्ट्राइक रेटमा ४५ रन बनाएका छन्।
टोलीमा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले स्थान बनाएका छन्। कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शनकुमार झा,सोमपाल कामी, करण केसी, प्रतिश जिसी, सन्दीप जोरा, ललितनारायण राजवंशी र अविनाश बोहरालाई निरन्तरता दिइएको छ।
सागर ढकाल र कलसिंह ऐरीले पनि स्थान बनाउँदा खराब लयमा रहेका आरिफ शेखले भने स्थान सुरक्षित गर्न सकेनन्।
नेपाली टोली
